बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पूर्वी पहाडमा बढ्यो सुन्तला उत्पादन, किसान उत्साहित

सोमबार, मंसिर २५ २०८०
पूर्वी पहाडमा बढ्यो सुन्तला उत्पादन, किसान उत्साहित

यसपटक पनि बजारमा गत वर्षकै हाराहारी मूल्यमा सुन्तला किनबेच भइरहेको छ।

धरान- सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन्। गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गतवर्षकै जस्तो छ। यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत ठाउँबाट किसानले धरानस्थित कृषिउपज बजारस्थलमा सुन्तला ल्याइरहेका छन्।

कात्तिक १५ यतामात्र दुई हजार मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ। अझ पुसमा सबैभन्दा धेरै सुन्तला आउने अनुमान गरिएको छ। किसानले यसपटक बारीमा सुन्तला धेरै फलेकाले पुसमा ठूलो परिणिाममा सुन्तला बजारमा आउने बताएका छन्।

धरान बजारमा अहिले सुन्तलाको मूल्यप्रतिकेजी रु एक सयदेखि एक सय २० रूपैयाँसम्म छ। मौसमअनुसार सुन्तलाको मूल्य घटबढ हुने गर्छ। घाम लागेको बेला सुन्तलाको मूल्य वृद्धि हुने र नलागेको दिन घट्ने व्यापारीको भनाइ छ। यसपटक केही दिनअघि घाम नलाग्दा कृषिबजारमा प्रतिकेजी ८० रूपैयाँसम्ममा किनबेच भएको थियो। यसपटक पनि बजारमा गत वर्षकै हाराहारी मूल्यमा सुन्तला किनबेच भइरहेको छ। 

कृषिउपज बजार स्थलको तथ्यांकअनुसार गत वर्ष पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरानमा सात हजार मेट्रिकटन सुन्तला खरिद बिक्री हुँदा ७० करोड रूपैयाँ हाराहारीको कारोबार भएको थियो। यसपटक पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले साढे आठ हजार मेट्रिकटन कृषि बजारमा आइपुग्ने र त्यसबाट करिब एक अर्ब रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए।

पूर्वी पहाडको धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर र खोटाङसम्मका सुन्तला धरानको कृषिउपज बजार स्थल आइपुग्छन्। धनकुटा क्षेत्रका सुन्तला प्रायःकिसान आफैले बजारसम्म ल्याए पनि अन्य क्षेत्रका एजेन्टले बजारसम्म ल्याउने गरेका छन्। उनीहरुबाट थोक व्यापारी र त्यहाँबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म सुन्तला पुग्ने गरेको छ।

धरानबाट व्यापारीले पूर्वी तराईका बजारहरु इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमकदेखि मधेस प्रदेशका विभिन्न जिल्लासम्म पुर्‍याउने गरेका छन्। पूर्वी पहाडका रसिला सुन्तला अनौपचारिकरुपमा व्यापारीले भारतका बजारसम्म पनि पुर्‍याउने गरेका छन् तर औपचारिकरुपमा भारत लैजाने बाटो खुलेको छैन।

त्यसका लागि भारतस्थित महावाणिज्यदूतावासको सहयोग लिएर भारतीय बजारमा सूचीकृत गर्नसके पूर्वी पहाडका किसानले राम्रो आम्दानी गर्नसक्ने कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। उनले भने, 'हालसम्म सूचीकृत गर्ने काम भएको छैन। त्यसका लागि व्यापारी व्यवसायी र सरकारले पनि चासो दिनसके देशलाई फाइदा हुन्छ।' रासस


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend