बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बाँझिएका जग्गा उपयोग गर्दै रुपा गाउँपालिका, भूमि बैंक स्थापनाको तयारी

आइतबार, मंसिर २४ २०८०
बाँझिएका जग्गा उपयोग गर्दै रुपा गाउँपालिका, भूमि बैंक स्थापनाको तयारी
फाइल तस्बिर

शिक्षित र उत्साही युवालाई कृषि तथा उद्यममूलक व्यवसायतर्फ आकर्षित गरी स्वरोजगारी सिर्जना गरिने कार्यविधिमा उल्लेख छ।

गण्डकी- कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ। भूमि बैंक स्थापनाका लागि पालिकाले भूमि बैंक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी गाउँसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ।

गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्नका लागि बाँझिएका जग्गाको सूचीकरण गर्न भूमि बैंकमा राख्न चाहने सर्वसाधारणका लागि आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। वडामार्फत आवेदन माग गरिएको उल्लेख गर्दै उनले प्राप्त आवेदन अनुसार जग्गाको पहिचान गरिने बताए।

सूचीकृत भइसकेपछि ती जग्गामा व्यवसाय गर्न चाहनेका लागि आवेदन माग गरिने अध्यक्ष ओझाले बताए। कार्यविधि अनुसार जग्गा जमिन बाँझो राख्ने प्रवृत्ति न्यून गर्नु यस कार्यक्रमको उद्देश्य हो। त्यस्तै लगानीको दायरा बढाइ युवामा उद्यमशीलता बढाउनुका साथै गाउँपालिकाभित्रका बाँझा जग्गा भाडामा लिई आन्तरिक तथा बाह्य लगानी भित्र्याउने योजना रहेको अध्यक्ष ओझाले बताए।

शिक्षित र उत्साही युवालाई कृषि तथा उद्यममूलक व्यवसायतर्फ आकर्षित गरी स्वरोजगारी सिर्जना गरिने कार्यविधिमा उल्लेख छ। फलफूल, तरकारी, खाद्यान्न तथा अन्य पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाइने अध्यक्ष ओझाको भनाइ छ। रासस


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend