बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

गाउँका बाँझो जग्गामा डाक्टर र इन्जिनियरसहितको समूहले सुरु गर्‍यो व्यावसायिक कृषि

आइतबार, मंसिर २४ २०८०
गाउँका बाँझो जग्गामा डाक्टर र इन्जिनियरसहितको समूहले सुरु गर्‍यो व्यावसायिक कृषि

पूरै गाउँ नै किनेर स्थानीयस्तरमा गरिने खेतीलाई व्यावसायिक गर्नतर्फ उनीहरुको समूह आकर्षित भएको हो। अहिलेसम्म यहाँ करिब डेढ करोड रूपैयाँ लगानी भइसकेको छ।

दाङ- कुनै समय व्यवसाय गर्न बजार रोजिन्थ्यो। अहिले पनि सुगमताका लागि गाउँ छोडेर सहर झर्ने उत्तिकै छन्। शिक्षा, रोजगारलगायतका लागि सहर झर्नेको सङ्ख्या बढे्सँगै गाउँ रित्तिँदै जान थालेका छन्। 

दाङ घोराही उपमहानगरपालिका-१९ सैघामा भने १७ जना मिलेर गाउँमा बाँझो रहेका जग्गामा व्यवसाय सुरु गरेका छन्। पूरै गाउँ नै किनेर स्थानीयस्तरमा गरिने खेतीलाई व्यावसायिक गर्नतर्फ उनीहरुको समूह आकर्षित भएका हुन्।

घोराही बजारमा विभिन्न पेसा व्यवसाय गरेर स्थापित भएकाले सोही ठाउँमा स्थानीय कुखुरा, बाख्रा, कालिजपालन व्यवसाय गरेका छन् भने कागती, स्याउ, नास्पाति, एभोकाडोलगायतका व्यावसायिक खेती गरेका छन्। व्यवसायी, डाक्टर, इन्जिनयरसहितको समूहले बाँझो जग्गामा व्यवसाय सुरु गरेका हुन्।

लाकुरी मल्टी एग्रो हब प्रालि दर्ता गरी यहाँको ३६ रोपनी जग्गा किनेर व्यवसाय सुरु गरिएको प्रालिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। 'सबै गाउँबाट झरेर बजार जान थाले, गाउँको सबै जग्गा बाँझो रहन थाल्यो', उनले भने, 'उत्पादन हुनसक्ने बाँझो जग्गामा हामीले लगेर उत्पादन गरेमा मुलुकलाई आत्मनिर्भर बनाउने एउटा बाटोको सुरुवात हुन सक्छ। त्यसैले हामी मिलेर लगानी गरेका हौँ।'

अहिलेसम्म यहाँ करिब डेढ करोड रूपैयाँ लगानी भइसकेको श्रेष्ठको भनाइ थियो। पहाड आफै रमणीय हुने भएकाले पर्यटनको पनि आकर्षण गर्न सकिने भन्दै यसरी पहाडको जग्गालाई आफूहरुले सदुपयोग गरेको उनले बताए।

यस क्षेत्रलाई आफूहरुले पर्यटन केन्द्रका रुपमा विकास गर्ने योजनासहित काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार तीन वर्षअघिदेखि यहाँ व्यवसाय सञ्चालन गरिएको हो। केही समयपछि यहाँ ड्रागन फ्रुट पनि रोप्ने तयारी भइरहेको उनले जानकारी दिए।

बाँझो जग्गालाई सदुपयोग गरी उत्पादनमा जोडिएमा मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न टेवा पुग्ने प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए। 'अहिले धेरै खेतीयोग्य जग्गा बाँझो छोडेर सहर पस्ने चलन बढेको छ। यसले आर्थिक उत्पादनका हिसाबले मुलुकलाई निकै पछाडि धकेल्छ', उनले भने, 'व्यवसायीले यस्तो जग्गालाई सदुपयोग गरेमा मुलुकलाई आर्थिक हिसाबले पनि टेवा पुग्छ।'

पछिल्लो समय सहर केन्द्रित व्यवसायी यसरी नै गाउँमा व्यवसाय गरेका देखिन थालेका छन्। सानो लगानीमा धेरै जग्गा पनि आउने र व्यवसायका हिसाबले पनि मनग्य आम्दानी गर्न सक्ने भएकाले व्यवसायीले गाउँको बाँझो जग्गालाई सदुपयोग गर्न थालेका छन्। रासस


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend