बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा, घाटामा किसान

आइतबार, मंसिर २४ २०८०
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा, घाटामा किसान

तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निराश भएका छन्।

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन्। दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन्।

गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा बेहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए। उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निराश भएका छन्।

गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष एक लाख रूपैयाँको पनि बिक्री नभएको बताए। 'बीउ, गोडमेल, औषधिलगायतमा करिब तीन लाख जति खर्च भएको छ', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो। करिब ६ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ।'

इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे। उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो।

गत वर्ष दुई लाख २३ हजार रूपैयाँको गोलभेँडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झन्डै एक लाख घाटा बेहोर्नुपरेको बेहोर्नुपरेको सुनाइन्। वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए।

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए। उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए। रासस


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend