बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलको सेयर खरिद-बिक्रीमा नियम उल्लंघन, सरकारले विस्तृत छानबीन गर्ने

बुधबार, मंसिर २० २०८०
एनसेलको सेयर खरिद-बिक्रीमा नियम उल्लंघन, सरकारले विस्तृत छानबीन गर्ने

नियम कानूनअनुसारको स्वीकृति नलिइ विदेशमै न्यून मूल्यमा कारोबार हुनु शंकास्पद भएको तथा राज्यको स्वामित्वमा आउने सम्भावना टार्ने कोशिस भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्रीमा दूरसञ्चारसम्बन्धी कानूनको उल्लंघन भएको छ। 

दूरसञ्चार नियमावलीको व्यवस्थालाई ठाडो चुनौती दिँदै अनुमतिबिना विदेशमै कारोबार भएको छ।

यसअघि एनसेलको सेयर कारोबारमा ठूलो करछलीको प्रयास भएपछि गरिएको नियामकीय व्यवस्थालाई फेरि एनसेलले नै चुनौती दिएको छ। यसअघि टेलियासोनेराबाट अजियाटाले सेयर खरिद गर्दा जानकारी नै नदिएर कारोबार भएको थियो।

यसरी कारोबार हुँदा कर तथा कर दायित्वबाट सहजै भाग्ने र झमेला सिर्जना भएको भन्दै दूरसञ्चार नियमावलीमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको थियो। 

दूरसञ्चार नियामावली २०५४ को १५ 'ट' अनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। तर यो व्यवस्थाको फेरि एनसेलकै सेयर कारोबारमा उल्लंघन भएको छ। 

अजियाटाले एनसेलमा ८० प्रतिशत सेयर भएको रेनाल्ड होल्डिङको सेयर स्पेक्ट्रोलाइट युकेलाई ५ करोड अमेरिकी डलरमा बिक्री गर्ने सम्झौता गरिसकेको छ। अजियाटाको स्वामित्वमा रहेको अजियाटा युके इन्भेष्टेमेन्टले यो सम्झौता गरेको हो।

न्यून मूल्यांकनमात्र होइन न्यूनतम नियमको पालना पनि नगरी नेपाल सरकारलाई अनादार गर्नेगरी कारोबार भएको भन्दै सत्ता गठबन्धनले छानबीन गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको गठबन्धनको बैठकले खरिद बिक्रि जालसाजीपूर्ण देखिएको भन्दै छानबीन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता तथा सांसद रमेश लेखकले जानकारी दिएका छन्। 

नियम कानूनअनुसारको स्वीकृति नलिइ विदेशमै न्यून मूल्यमा कारोबार हुनु शंकास्पद भएको तथा राज्यको स्वामित्वमा आउने सम्भावना टार्ने कोशिस भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

सांसदहरूले नै यसमा सरकारलाई गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री तथा सत्तारुढ दलका नेतामाथि पनि गम्भीर आक्षेप लागिरहेको छ। त्यही भएर प्रधानमन्त्री दाहालले यसमा निरन्तर छलफल गरिरहेका छन्।


प्रकाशित : बुधबार, मंसिर २० २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend