बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

आलु खेती विस्तारमा तीन करोडको आयोजना, बीउ र उपकरणका लागि प्रतिरोपनी १२ हजार अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १९ २०८०
आलु खेती विस्तारमा तीन करोडको आयोजना, बीउ र उपकरणका लागि प्रतिरोपनी १२ हजार अनुदान
फाइल तस्बिर

चालु आर्थिक वर्ष २०८०/८१ मा यस आयोजनामार्फत जिल्लामा यस वर्ष हिउँदे र बर्खे गरी करिब एक सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार हुनेछ।

बेनी- म्याग्दीमा आलु खेतीको विस्तार र प्रवर्द्धनका लागि तीन करोड रुपैयाँ बजेटको आयोजना सञ्चालन भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो।

जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानका रुपमा परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ। उक्त आयोजनाअन्तर्गत प्रस्ताव आह्वान गरेर कृषक समूह र कृषि सहकारी छनोट भएको कार्यालयका अधिकृत सम्झना शर्माले जानकारी दिइन्।

उनका अनुसार, छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी १२ हजारका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा यस आयोजनामार्फत जिल्लामा यस वर्ष हिउँदे र बर्खे गरी करिब एक सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार हुनेछ।

कम्तीमा १० घरधुरी समेटिएको ३० रोपनीभन्दा बढीमा आलु खेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट भएको अधिकृत शर्माले जानकारी दिइन्। हिउँदे आलु लगाउन बेनी नगरपालिकासहित मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका १८ वटा समूहले प्रक्रिया पुर्‍याएर आवेदन दिएका थिए। यी समूहले ५० हेक्टरमा खायन आलु लगाउनेछन्। 

'आलु खेती लगाउने सहकारी र कृषक समूहलाई कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यविधि छ', उनले भनिन्। सबैभन्दा बढी मङ्गला-३ का धापुङ महिला कृषि समूहले एक सय १४ रोपनीमा हिउँदे आलु लगाउने भएका छन्। 

हिउँदे आलु लगाउनका लागि अन्नपूर्ण र रघुगङ्गाका कृषक समूहबाट आवेदन परेको छैन। स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन बजेटलाई प्रयोग गरिने केन्द्रले जनाएको छ।

म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भए पनि हिउँदे आलुको बीउ बाहिरबाट बढी ल्याउने गरेका छन्। म्याग्दीमा बीउको आलु उत्पादन गर्नका लागि समूह छनोट गरेर यस वर्ष १० रोपनीमा लगाउने योजना केन्द्रले गरेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८००९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend