बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बंगलाचुलीमा व्यावसायिक सुन्तला खेती

बिहीबार , मंसिर १४ २०८०
बंगलाचुलीमा व्यावसायिक सुन्तला खेती

मकै, गहुँलगायतका बालीभन्दा फलफूलबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान सुन्तलाको व्यावसायिक खेतीतर्फ लागेका हुन्।

घोराही- दाङको बंगलाचुली गाउँपालिका-५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ। जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन्।

पाँच वर्षअघि रोपेका बिरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बंगलाचुली-५ साकिनेका मेघबहादुर रावतले बताए। सुन्तला रोप्नुअघि रावतले पाखो बारीमा मकै, गहुँ, तोरीखेती गर्दै आएका थिए। पाखो बारीमा अन्नबाली राम्रो उत्पादन नहुने, भएको पनि जंगली जनावरले खाने भएपछि सुन्तला खेती गर्न थालेको उनको भनाइ थियो। 'पाखो बारी भएकाले सिँचाइको पनि सुविधा नहुँदा अन्न खासै राम्रो हुँदैनथ्यो। सुन्तला रोपेको राम्रो फल्न थालेको छ', उनले भने। 

एकपटक रोपेको सुन्तला वर्षौँसम्म फल्ने र अन्य बालीजस्तो दुःख नहुने भएकाले सुन्तला खेतीमा लागेको स्थानीय किसान टोपबहादुर पुनले बताए। खाद्यान्न उत्पादनका हिसाबले कमजोर रहेको र फलफूलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेती गर्न थालिएको उनको भनाइ थियो।

'मकै, गहुँलगायतका कृषि बालीभन्दा फलफूलका माध्यमबाट राम्रो आम्दानी लिन सकिने भएपछि पाँच वर्षअघि सुन्तला रोपेको थिएँ। अहिले फल्न थालेका छन्। फल पनि राम्रो लागेकाले आम्दानी हुने आशा छ', उनले भने।

साकिनेमा सुन्तला रोप्नुअघि मौसम, कागतीलगायत फलफूलले राम्रो उत्पादन दिने गरेको थियो। सबै कुराले उपयुक्त मानिएकाले यहाँ पहिलोपटक सुन्तला रोपेको बताउँदै चनी घर्तीले फल राम्रो लागेको जानकारी दिए।

'यसअघि रोपिएका बोटले घरमा खान पुग्ने मात्रै हुन्थ्यो', घर्तीले भने, '८० घरधुरी रहेको यो गाउँमा ५० बढी किसानले व्यावसायिकरूपमा सुन्तला फलाउन थालेका छन्।' सिंगो गाउँ नै दाङको पहिलो सुन्तला उत्पादन गर्ने थलोका रूपमा चिनिन थालेको उनको भनाइ थियो।

वडा नं ५ का वडाध्यक्ष लीलाबहादुर घर्तीले स्थानीय युवाको सक्रियतामा सहकारीमार्फत पाँच वर्षयता सुन्तला खेती गर्न थालिएको बताए। रहरका लागि नभइ व्यावसायिकरूपमा किसानले सुन्तला खेती गरेकाले उत्पादन बढ्दै गएको उनको भनाइ थियो। उनका अनुसार गाउँका प्रायः सबै घरका मानिसले सुन्तला खेती गरेका छन्।

पहिलेदेखि नै गाउँमा अधिकांशका घरमा एक/दुईवटा बोट भएको र त्यही बोटमा राम्रो फल्ने गरेकाले उनीहरु व्यावसायिकरूपमा अघि बढेका वडाध्यक्ष घर्तीको भनाइ थियो। 'सिँचाइ सुविधा नहुने भिरालो जमिनका कारण अन्य अन्नबाली खासै राम्रो हुँदैनथ्यो। सुन्तला भने राम्रो फल लाग्ने गरेको छ', उनले भने।

हावापानीका हिसाबलेसमेत सुन्तलाका लागि साकिने उपयुक्त भएकाले धेरै किसान जोडिएको वडाध्यक्ष घर्तीले बताए। उनका अनुसार पहाडी कृषि सहकारी संस्थामार्फत गाउँका किसान संगठित भइ व्यावसायिकरूपमा सुन्तला उत्पादनमा लागेका छन्। करिब पचास घरधुरीले व्यावसायिकरूपमा २५ हजार बढी सुन्तलाका बिरुवा रोपेका उनले जानकारी दिए।

किसानले जिल्लामै पहिलोपटक व्यावसायिकरूपमा सुन्तला उत्पादन गरेपछि पालिकाले सुन्तलाको बजारीकरणमा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले बताए। 'जिल्लामै पहिलोपटक साकिनेमा सुन्तला उत्पादन हुन थालेको छ। यो पालिकाको गौरवको विषय पनि हो', उनले भने, 'स्थानीय उत्पादनलाई ध्यानमा राख्दै बजारीकरण सहयोग गर्न पालिका तयार छ।'

सुन्तला खेतीका लागि प्राविधिक ज्ञान तथा उत्पादित वस्तुको बजारीकरण हुनसके साकिनेलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने किसानको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend