बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पूर्वशिक्षकको फलफूल खेती, वार्षिक ३५ लाखसम्म आम्दानी

बुधबार, मंसिर १३ २०८०
पूर्वशिक्षकको फलफूल खेती, वार्षिक ३५ लाखसम्म आम्दानी

फलफूलको बिरुवा लगाउन झन्डै ८० लाख खर्च गरेका पूर्वशिक्षक कृष्णजंग रायमाझीले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन्।

चौतारा- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ सिन्धुकोटका ५९ वर्षीय पूर्वशिक्षक कृष्णजंग रायमाझीले फलफूलखेतीबाट वार्षिक ३५ लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्।

तिस वर्ष शिक्षण पेसा गरेर अवकाश लिएका पूर्वशिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थालेका हुन्।

पाखोमा फलफूलको बिरुवा लगाउन झन्डै ८० लाख खर्च गरेका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल भए। पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताए।

रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गरेका छन्। सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उनले बताए उनका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो। दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन्।

रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो। त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ छ। अब उनीसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ। कागतीको माग बढेकाले भनेजति पुर्‍याउन नसकिएको रायमाझी बताउँछन्। उनका अनुसार भारतबाट आउने कागतीभन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीले मन पराएका छन्।

आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उनको अनुमान छ। ती कागतीको मूल्य २५ देखि ३० लाख रूपैयाँ पर्न आउँछ। सुन्तला र जुनार करिब १० लाख रूपैयाँ बराबरको बिक्री गरिसकेका उनले गत साल कागती, जुनार र सुन्तला गरी करिब १५ लाख आम्दानी गरेको बताए।

पुस सुन्तला र जुनारको समय हो। आगामी वर्ष सुन्तला र जुनार गरेर १० लाख र कागतीबाट २५ लाखसम्म आम्दानी हुने उनको अनुमान छ। अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गरे।

पूर्वशिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन पाँच लाख रूपैयाँ अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, मंसिर १३ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend