बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लाइसेन्सको म्याद सकिन ६ वर्ष बाँकी हुँदा एनसेलको सेयर बिक्री गर्दै अजियाटा

बुधबार, मंसिर १३ २०८०
लाइसेन्सको म्याद सकिन ६ वर्ष बाँकी हुँदा एनसेलको सेयर बिक्री गर्दै अजियाटा

अजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ।

काठमाडौं- दूरसञ्चार प्राधिकरणबाट पाएको लाइसेन्सको म्याद सकिन ६ वर्ष बाँकी हुँदा एनसेलमा रहेको सेयर बिक्री गर्ने निष्कर्षमा अजियाटा समूह पुगेको छ। 

एनसेलले जीएसएम सेलुलर मोबाइल लाइसेन्स प्राधिकरणबाट २०६१ साल भदौ १६ गते पाएको थियो। एक पटकमा दिएको लाइसेन्सको म्याद अधिकतम २५ वर्ष हुने व्यवस्था रहेको छ। २५ वर्षको व्यवस्थालाई संशोधन गर्ने वा म्याद थप्ने कसरत भइरहेकै समयमा अजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने निष्कर्षमा पुगेको हो। 

२०६१ सालमा लाइसेन्स पाएदेखि पटकपटक खरिद बिक्री भएको यो लाइसेन्समा पछिल्लो सात वर्षदेखि अजियाटाको बहुमति होल्डिङ रहेको छ। पछिल्लो समय मोबाइल सेवाबाट हुने आम्दानी घट्दै गएको तथा नाफा पनि संकुचित हुँदै गएको छ। 

आम्दानी घट्दै गएको र लाइसेन्सको म्याद सकिन लाग्दा मूल्यांकन कमजोर हुने ठहर गरेर अजियाटाले सेयर बिक्री गर्ने निर्णय गरेको हो। अजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ। 

अजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ। 

सात वर्षअघि अजियाटा एनसेलमा भित्रिएको थियो। ८० प्रतिशत सेयर किनेको यो समूह यो बीचमा पुँजीगत लाभकरको विवादमा फसेको थियो। करको भुक्तानी भइसकेको छ। एनसेलमा बाँकी २० प्रतिशत भने नेपाली मूलका व्यवसायीको होल्डिङ रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ। 

कर र ब्याजभन्दा अगाडिको आम्दानी(इबीआईटी) ११.४ प्रतिशतले घट्दा कर र अल्पसंख्यक लगानीकर्तापछिको आम्दानी ४७.७ प्रतिशतले घटेको कारण देखाउँदै अजियाटा बाहिरिन लागेको हो। उच्च ऋणको ब्याज लागतका कारण कम्पनीका अल्पसंख्यक लगानीकर्ताको करपछिको आम्दानी घटेको अजियाटाले उल्लेख गरेको छ।  

यस वर्षको तेस्रो त्रैमाससम्ममा नेपालमा अजियाटाको आम्दानी ८ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत नाफा(वाईडीटी) ६.४ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरेको छ।

नेपालमा सस्तो महसुल दर (इन्टरकनेक्ट रेट) ले गर्दा अन्तर्राष्ट्रिय आईएलडीबाट प्राप्त आम्दानी बढे पनि पनि कम्पनीको नाफा बढाउन नसकेको अजियाटाको दाबी छ। 


प्रकाशित : बुधबार, मंसिर १३ २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend