बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पर्याप्त वर्षा नहुँदा सर्लाहीमा घट्यो धान उत्पादन

सोमबार, मंसिर ११ २०८०
पर्याप्त वर्षा नहुँदा सर्लाहीमा घट्यो धान उत्पादन

पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको किसान बताउँछन्।

सर्लाही- आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

समयमा पानी नपर्दा मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानीका साथै मेहनत खेर गएको भन्दै किसान चिन्तित बनेका छन्। यस वर्ष कम वर्षा, रोग, कीराको सङ्क्रमणलगायत कारणले धान उत्पादन घटेको लालबन्दी नगरपालिका-३, जब्दीका किसान रुपलाल चौधरीले गुनासो गरे।

'गत वर्ष धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोपेका थिए', उनले भने, 'समयमा पानी नपर्नु, मलखादको अभावलगायत कारणले उत्पादन घटेको छ।'

यो वर्ष मेहनत र लगानीअनुसार धान उत्पादन हुन नसकेको चौधरीले बताए। ६ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै १० हजार रूपैयाँ खर्च भएको जनाउँदै लगानीअनुसार धान नफलेको किसान अनिरुद्र साहले बताए। उनका अनुसार यो वर्ष आकासे वर्षाले साथ नदिँदा धान राम्रो नफलेको हो। '६ कठ्ठामा १० हजार रूपैयाँको त पानी मात्रै लगाएँ तर लगानी बराबरको पनि धान फलेको छैन', उनले भने।

पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको हरिपुर्वाका किसान राजगिरले बताए। 'जेजति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो', उनले भने। सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्ने किसानको भनाइ छ। जिल्लाका किसान अहिले धान भित्र्याउन व्यस्त छन्। प्रत्येक फाँटका किसान धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने काममा व्यस्त छन्।

जिल्लामा गत वर्ष एक लाख ६४ हजार एक सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो। गत वर्ष करिब पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन मात्रै उत्पादन भएको किसानले बताएका छन्।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले सिँचाइ सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भए पनि आकासे वर्षाका भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताए। उनका अनुसार गत वर्षभन्दा धानखेती केही बढे पनि उत्पादन भने घटेको छ।

'पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा उत्पादन घटेको छ', रायले भने, 'केही क्षेत्रमा रोग, कीराको सङ्क्रमण पनि देखिएको छ।' कार्यालयको तथ्यांकअनुसार जिल्लामा करिब ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।

आवश्यकता अनुसार आकाशे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी लगाएका थिए। दमकलबाट सिँचाइ गर्दा प्रतिघण्टा तीन सय रूपैयाँ तिर्नुपर्ने र एक कठ्ठा खेतमा पानी पटाउन करिब दुई घण्टासम्म दमकल चलाउनुपर्ने किसानले बताएका छन्। धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको जिल्लाका किसानले गुनासो गरेका छन्। रासस


प्रकाशित : सोमबार, मंसिर ११ २०८००९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend