बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दैलेखमा घट्यो धान उत्पादन, सुन्तला र कागतीको बढ्ने अनुमान

आइतबार, मंसिर १० २०८०
दैलेखमा घट्यो धान उत्पादन, सुन्तला र कागतीको बढ्ने अनुमान

यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेट्रिक टनमात्र धान उत्पादन भएको छ।

दैलेख- दैलेखमा धान उत्पादन घटेको छ। समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ। यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेट्रिक टनमात्र धान उत्पादन भएको हो।

गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा २५ हजार एक सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष ९७ मेट्रिक टन धान कम उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख हिक्मतराज गिरीले बताए।

पछिका दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा बढी धान उत्पादन भएको थियो। आव २०७८/७९ मा आठ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा धानखेती लगाउँदा २६ हजार पाँच सय १० मेट्रिक टन धान उत्पादन भएको थियो।

यसैगरी यस वर्ष दैलेखमा सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ। कृषि विकास कार्यालय दैलेखको विवरणअनुसार दैलेखमा छ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। उत्पादनको पूरा विवरण आइनसकेको भए पनि नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको निमित्त कार्यालय प्रमुख गिरीले बताए।

आव २०७९/८० मा छ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्दा पाँच हजार पाँच सय ७६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आव २०७८/७९ मा छ सय ११ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा पाँच हजार नौ सय ८५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। 

निमित्त कार्यालय प्रमुख गिरीका अनुसार यस वर्ष दैलेखमा कागती खेतीसमेत बढ्ने अनुमान गरिएको छ। गत वर्ष ७२ हेक्टर जमिनमा कागती खेती गर्दा पाँच सय ७८ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ७३ हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ। आव २०७८/०७९ मा ६९ हेक्टर क्षेत्रफलमा कागती खेती गर्दा पाँच सय ३१ मेट्रिक टन उत्पादन भएको थियो।

दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको देखिन्छ। पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ। 

निमित्त कार्यालय प्रमुख गिरीले भने, 'यस वर्ष दैलेखमा धान उत्पादनमा कमी आउनु मुख्य तीन वटा कारण देखिएको छ। ढिलो गरी पानी पर्नु, मलखादको कमी र प्राकृतिक प्रकोपले गर्दा उत्पादन घट्ने देखिएको छ।'

केन्द्रका अनुसार दैलेखमा अहिले १० देखि १५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ। रासस


प्रकाशित : आइतबार, मंसिर १० २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend