बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

चियाखेतीले ढाकियो झाडीले उराठिलो बनेको पाखोबारी

आइतबार, मंसिर १० २०८०
चियाखेतीले ढाकियो झाडीले उराठिलो बनेको पाखोबारी

६ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन्। गत साउन र भदौमा किसनाले चिया टिपेर झन्डै तीन लाखको बिक्रीसमेत गरेका छन्।

बागलुङ- बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका-७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन्। ६ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन्। 

परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ। पहिले वनमाराले ढोकेका पाखोबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ।

झाडीले उराठिलो बनेको पाखोबारी चियाखेतीले ढाकिएपछि किसान निकै हर्षित भएका छन्। अहिले खेतीबाट यहाँका किसानले उत्पादनसमेत लिन थालेका छन्। चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन्। हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाइएको काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

'मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको थियो। गत साउन र भदौमा किसनाले चिया टिपे र झन्डै तीन लाखको बिक्रीसमेत गरेका छन्', उनले भने, 'सुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानमा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ। बजार झर्ने त झरिसके गाउँमा रहेकालाई अब यही बस्न चियाबारीले प्रेरित गरेको छ।'

यहाँ थप एक लाख चियाको बिरुवा थप्ने योजना रहेको स्थानीयवासीको भनाइ छ। चियाको बजारमा बढ्दो माग हुँदा मागअनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन्। यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयवासीको छ।

अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका छन्। गाउँमा रोजगार सिर्जना गर्न र बसाइँसराइ रोक्नका लागि छ वर्ष अगाडि सुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको लामिछानेले बताए। यसवर्ष पनि चिया खेतीको क्षेत्र विस्तार गर्ने योजना रहेको उनले बताए।

गाउँको पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछानेल जानकारी दिए। चियाखेतीमा करिब दुई सय घरपरिवार आबद्ध रहेकाले आम्दानी सबैले पाउने उनको भनाइ थियो।

चिया खेतीबाट वार्षिक ३० लाख रूपैयाँ आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताए। 'यहाँ खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ। गत साउन र भदौमा पहिलो पटक चिया टिपेर तीन लाख रूपैयाँको बिक्री पनि गरियो। चिया कसरी टिप्ने भन्ने विधि बल्ल आउँदैछ', उनले भने, 'पछिल्लो समय धेरै गाउँ छोडेर बजार झरिरहेका छन्। उनीहरुलाई गाउँमै रोक्नका लागि हामीले खेतीयोग्य जमिनको उपयोग गरी रोजगार सिर्जना गर्न चियाखेती थालेका हौँ।'

अहिले धेरै स्थानीयवासीले चासो दिएका भन्दै उनले यस वर्ष एक लाख बिरुवा थप्ने योजना रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए। उनका अनुसार चियाखेती विस्तारमा साना किसान सहकारी संस्था आबद्ध भएर काम गरिरहेका छन्।

यहाँ चियाखेती विस्तार गर्दा हालसम्म करिब ४२ लाख रूपैयाँ खर्च भइसकेको साना किसान सहकारी संस्थाका पूर्वअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए। गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उनको भनाइ छ। 

कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताए। उनले खुल्ला पाखोबारीमा चियाका बिरुवा लगाइएकाले पशुचौपायाबाट जोगाउन गाह्रो भएको भन्दै संरक्षणका लागि बारबन्देज गर्नुपर्नेमा जोड दिए। यहाँको हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको उनको भनाइ छ।

'बिरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन्। अहिले चिया बारीमा पुग्दा ठूलै बगानमा पुगे जस्तो लाग्छ। सुरुमा बिरुवा हुर्काउन केही समस्या भएको थियो,' कार्कीले भने, 'यहाँबाट आम्दानी हुन थालेको छ। गाउँका सबै स्थानीयवासी जोडिनु भएको छ। अब कुनै पनि बाँझो जमिन खाली नराख्ने योजना छ।'

समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ। केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने सम्भावना देखिएको बताए। यहाँ राम्रो उत्पादन हुन थालेमा जिल्लाका अन्य ठाउँमा पनि चियाखेती विस्तार गर्ने उनको भनाइ छ।

कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरिएको मगरले बताए। अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिँदै आएको उहाँले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, मंसिर १० २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend