बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सेवानिवृत्त कृषि अधिकृतको पौरख : सुन्तला खेतीबाट गर्छन् बर्सेनि २५ लाखभन्दा बढी आम्दानी

आइतबार, मंसिर १० २०८०
सेवानिवृत्त कृषि अधिकृतको पौरख : सुन्तला खेतीबाट गर्छन् बर्सेनि २५ लाखभन्दा बढी आम्दानी

कृषिविज्ञसमेत रहेका रामबहादुर थापाले सुन्तलाबाट बर्सेनि २५ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले चारसय बोट सुन्तला लगाएका छन्।

दमौली- तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्। कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उनी पूर्णरूपमा यस खेतीमा लागिरहेका छन्।

५६ वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्। चार सय बोट सुन्तलाबाट बर्सेनि २५ लाख रूपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए।

सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन्। उनले भने, '३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुर्ख्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु। सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसमा सन्तुष्ट छु।'

यस वर्षको सुन्तलाको ठेक्का २५ लाख रूपैयाँमा काठमाडौंका व्यापारीलाई दिएको उनले बताए। उनले भने, 'उमाचोकका किसानले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन्। यसले गर्दा सहज भएको छ।' थापाले सुन्तला खेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएका छन्। उमेर अवस्थाका कारण पेसालाई निरन्तरता दिन कठिन रहेको बताउँदै उनले भने, 'छोराछोरी स्वदेश फर्किएर यही पेसा निरन्तरता गरिदिए हुन्थ्यो भन्ने लाग्छ।'

तीन फिटको खाल्डो खनेर, पाँच मिटरको दुरीमा बिरुवालाई मलजल गरी सार्न सके छिटो उत्पादन हुनसक्ने उनको सुझाव छ। उनले भने, 'कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ। किसानलाई पनि सुन्तला खेतीको तरिकाबारे सिकाउने गरेको छु।' जिल्लाका अन्य ठाउँमा गितसिला नामको कीरा तथा ग्रिनिङबाट बोट नष्ट भए पनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको उनको भनाइ छ।

जिल्लामा गत वर्ष २९ करोड रूपैयाँको सुन्तला उत्पादन भएको थियो। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ। त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ। कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। 

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन्। सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौंका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ। यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन्। 

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ मा सुन्तला खेतीमा सहयोग गर्न एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर १० २०८००७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend