बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भिजिट भिषामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाउने चारजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २० २०८०
भिजिट भिषामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाउने चारजना पक्राउ

काठमाडौं- भिजिट भिषामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका-३ घर भइ हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका-२, घर भइ हाल काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका-१० भइ काठमाडौं बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिषामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चारजनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो।

निजहरुलाई विभिन्न व्यक्तिहरुका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान-दुई सय ३० सहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका-५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका-८ घर भइ हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका-३ घर भइ हाल काठमाडौं नागार्जुन नगरपालिका-इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।


प्रकाशित : सोमबार, कात्तिक २० २०८०१२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend