बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

२५ वर्षदेखि जापानमा रहेका खत्रीको जन्मथलोमा तीन करोड लगानीमा बाख्रा फार्म

शनिबार, कात्तिक १८ २०८०
२५ वर्षदेखि जापानमा रहेका खत्रीको जन्मथलोमा तीन करोड लगानीमा बाख्रा फार्म

अहिले फार्ममा लगानी थप भइरहेको छ, पाँच वर्ष आम्दानी नगरी फार्म विस्तारमै बिताउने चन्द्र खत्रीले बताए। अहिले ६ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक तीन लाख रूपैयाँ खर्च भइरहेको बताए।

गलकोट- बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन्। त्यसैमध्येका एक हुन्, चन्द्र खत्री। गलकोट नगरपालिका-५ कौलेनीका खत्रीले जापानमा रहे पनि आफ्नै गाउँमा तीन करोड रूपैयाँभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहेका छन्।

जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याएका हुन्।

'२५ वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो, तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच आयो', उनले भने, 'अहिले सालो गुमानसिंह खड्काको व्यवस्थापनमा थप पाँच जना फार्ममा कार्यरत हुनुहुन्छ, मुख्य उद्देश्य गाउँमै रोजगारी सिर्जना गर्नु हो।'

उनका अनुसार बाख्राको आधुनिक खोरमा मात्रै डेढ करोड रूपैयाँ लगानी भएको छ भने खोरमा एक हजारभन्दा बढी बाख्रा अट्ने क्षमता छ। अहिले ६ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक तीन लाख रूपैयाँ खर्च भइरहेको बताए। हाल फार्ममा दुई सय बोका, पाठा र माउ बाख्रा छन्।

एक वर्षभित्रै जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन गर्ने सोचअनुसार एक हजार बोका बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरिएको खत्रीको भनाइ छ। खत्रीको श्रीमतीसहित छोरा बुहारीसमेत जापानमा बस्दै आएका छन्। खत्रीले नमूना र प्रविधियुक्त बाख्रापालन गर्न थालेको बताउँदै बाख्रा अध्ययन केन्द्रका रुपमा फार्मलाई विकास गर्ने गरी अगाडि बढेको बताए।

'किसानबाट उद्यमी बन्नका लागि आधुनिक खोर, उन्नत जातको घाँस ३० बिघा जग्गामा लगाएको छु, आफ्नै मासु पसल खोल्ने योजना छ, अहिले फार्ममा लगानी थप भइरहेको छ, पाँच वर्ष आम्दानी नगरी फार्म विस्तारमै बिताउँछु', उनले भने।

कोरोनाकालमा नेपाल फर्कँदा गाउँमा आफ्नै केही गर्ने लक्ष्य र बाख्रापालनको सम्भावना देखेपछि लगानी गरेको उनको भनाइ छ। फार्ममा ९० प्रतिशत बोयर र १० प्रतिशत स्थानीय जातका बाख्रा छन्।

'गाउँमा बाँझो जग्गा बढेको थियो, अहिले बाख्रा फार्म सञ्चालन गरेपछि हरियाली बढेको छ, गाउँबाट बसाइँसराइ गर्ने क्रमसमेत रोकिएको छ, बाख्रा फार्म हेर्न आउनेले गाउँ चलायमान भइरहेको छ', खत्रीले भने।

तीन वर्ष पहिला ३५ वटा बाख्राबाट सुरु गरेको बाख्रापालन व्यवसायलाई अहिले दुई सयमा पुर्‍याइएको र आगामी वर्ष ६ सय बढी बाख्रापालन गर्ने उनको उद्देश्य छ। रासस


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend