बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन, वार्षिक २५ लाखसम्मको कारोबार

शुक्रबार, कात्तिक १७ २०८०
विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन, वार्षिक २५ लाखसम्मको कारोबार

विगत १२ वर्षदेखि बाख्रापालन गर्दै आएका श्रीस बोयर जातको बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्।

बेनी- वैदेशिक रोजगार त्यागेर बाख्रापालन गरेका यहाँका एक व्यक्तिको पहिचान फेरिएको छ। विदेशबाट फर्किएर बाख्रापालनमा आबद्ध भएका बेनी नगरपालिका-३ भकिम्ली डाँडाखानीका उनले करिब १२ वर्षको अवधिमा आफ्नो पहिचान ‘अगुवा कृषक’को रुपमा स्थापित गराएका हुन्।

खाडी मुलुकमा गरिएको रोजगारीबाट आर्थिकरुपमा सबल नबनेपछि श्रीस गाउँमै पौरख गर्ने अठोट लिएर खाली हात स्वदेश फर्किएका थिए। गाउँ फर्किएपछि विसं २०६८ मा जग्गा धितो राखी ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका उनी अहिले स्वरोजगार बन्नाका साथै अन्य व्यक्तिलाई समेत रोजगार बनाएका छन्।

विगत १२ वर्षदेखि बाख्रापालन गर्दै आएका श्रीस बोयर जातको बाख्रापालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका उनले बोयर जातका पाठापाठी उत्पादन गरेर देशका विभिन्न भागमा बिक्री गर्दै आएका छन्।

श्रीसको फार्मबाट वार्षिक करिब २५ लाख रूपैयाँ बराबरको बोयर बाख्रा बिक्री हुने गरेको छ। केही वर्षअघिसम्म बोयर बाख्राको मूल्य राम्रो पाएपछि अहिले बोयरको उत्पादन बढाइएकामा अहिले भने यसको आकर्षण घटेका कारण आम्दानीमा गिरावट आएको उनको गुनसो छ।

'दुई वर्षअघिसम्म बोयर बोका र पाठीलाई दुई लाख रूपैयाँसम्म पर्थ्यो, मैले मेरै फार्मबाट वर्षमा ६० लाख रूपैयाँसम्मको कारोबार गरेको थिएँ तर अहिले  मूल्य घटेको छ, एउटैको ८० हजार रूपैयाँ आउन पनि कठिन छ', श्रीस भन्छन्।

बाख्रापालनबाटै नमूना कृषकको रुपमा पहिचान बनाएका उनले बाख्रापालनबाट भएको आम्दानीलाई फार्मको पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन्। हाल उनको फार्ममा करिब दुई करोड रूपैयाँ लगानी भइसकेको छ। छिटोछिटो हुर्कने बोयर जातका बाख्रापालन गर्दै आएका श्रीसको फार्ममा अहिले ३५ वटा बाख्रा छन्। तीमध्ये पाठा जन्माउने १५ वटा माउ बाख्रा छन्। अन्य साना पाठापाठी छन्। अहिले नश्ल सुधारका दुईवटा बोका फार्ममा रहेको उनी बताउँछन्।

बाख्राको घाँसका लागि ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीसले तीन जनालाई नियमित रोजगार दिएका छन्। व्यवस्थितरुपमा दुईवटा खोर बनाएर बोयर बाख्रापालनको स्रोत केन्द्र नै स्थापना गरेका उनको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट कृषक आउने गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend