बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

शुक्रबार, कात्तिक १७ २०८०
जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

मार्सीधानको चामलको माग बढ्न थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। यस वर्ष धान खेतीमा ब्लाष्ट रोग लागेकाले गत वर्षभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ।

जुम्ला- हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन्। अति लोकप्रिय मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन्।

यहाँका आठवटै स्थानीय तहमा दुई हजार नौ सय ५० हेक्टरमा मार्सीधानको खेती हुने गरेको जिल्लास्थित कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार यस वर्ष धान खेतीमा ब्लाष्ट रोग लागेकाले गत वर्षभन्दा कम उत्पादन हुने अनुमान गरिएको छ। यो याममा किसानले जुम्ली कालीमार्सी धान काटेर घरमा ल्याइसकेको स्थानीय बताउँछन्।

मार्सीधान कात्तिकको पहिलो साता नै काटेर भित्र्याइसकेका किसान सुनिता पाण्डेले बताइन्। 'सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी', उनले भनिन्, 'यसको स्वादका साथै रोगसँग प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सीधानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ।'

राणाशासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौंसम्म पुर्‍याउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन्। जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधान बालीमा ब्लाष्ट रोगले उत्पादनमा कमी आएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन्। तातोपानीको वडा नं ४, ५ र ६ का फाँटमा बढी ब्लाष्ट रोगले क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend