बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

घट्यो फापर खेती

शुक्रबार, कात्तिक १७ २०८०
घट्यो फापर खेती

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ। पहिला गाउँका हरेक किसानले आफ्नो एक-दुई रोपनीमा भए पनि फापर खेती गर्ने गरेकामा हाल त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको छ।

ढोरपाटन- लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ। व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ।

रैथाने बाली फापरको आँटो, ढिडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ। फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन्।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ। स्थानीय तीर्थबहादुर बुढामगर पहिला गाउँका हरेक किसानले आफ्नो एक-दुई रोपनीमा भए पनि फापर खेती गर्ने गरेकामा हाल त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको बताउँछन्। 'अहिले कमैले मात्र फापर खेती गर्ने गरेका छन्', उनी भन्छन्- 'हामी फापरकै आँटो, ढिडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे।'

फापर बारीमा अन्य खेती हुन थालेको स्थानीय निमबहादुर विक बताउँछन्। 'पहिला रातो र कालो जातको फापर राम्रै फल्थ्यो, आजभोलि निकै कम फल्ने गरेको छ', उनले भने। फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौखेती गरेको तथा त्यसपछि फापर नै लगाउँदा उत्पादन कम भएको विकले बताए। फापरको उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेको विकको भनाइ छ। मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर खेतीप्रति स्थानीयको आकर्षण घटेको उनी बताउँछन्। 'फापरको बीउ जोगाउन गाह्रो हुन थालेको छ', विकले भने।

अचेल फापरका परिकार गाउँमा पाक्न छाडेका छन्। मेला-महोसत्वमा मात्र फापर सीमित भएको छ। बागलुङमा अहिले ८५ हेक्टर क्षेत्रफलमा फापर खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनमगरले जानकारी दिए। उनका अनुसार हरेक वर्ष एक सय २० मेट्रिक टन फापर उत्पादन हुने गरेको छ।

फापर बाली संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने, उन्नत जातका बीउ वितरण र किसानलाई प्रोत्साहन गर्ने सूचना अधिकारीले पुनमगरले बताए। उनले भने, 'हरेक वर्ष फापर खेती घट्दै गएको छ।' रासस


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend