बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

प्याज निर्यातमा भारतको थप अंकुश, तोक्यो न्यूनतम निर्यात मूल्य

नेपाली बजारमा थप मूल्यवृद्धि हुनसक्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १२ २०८०
प्याज निर्यातमा भारतको थप अंकुश, तोक्यो न्यूनतम निर्यात मूल्य

सूचना अनुसार निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय अमेरिकी डलर रहेको छ। यो आजदेखि नै लागू हुने छ। यो मूल्य सन् २०२३ को डिसेम्बरसम्म लागू हुने सूचनामा उल्लेख गरिएको छ। 

काठमाडौं- भारत सरकारले प्याजको निर्यातमा थप अंकुश लगाएको छ। आन्तरिक बजारमा प्याजको मूल्यमा उछाल आएपछि भारत सरकारले निर्यात निरुत्साहित गर्नका लागि न्यूनतम निर्यात मूल्य निर्धारण गरेको छ। 

भारतीय व्यापार निर्देशनालयले सूचना जारी गर्दै निर्यात हुने प्याजको न्यूनतम मूल्य निर्धारण गरेको हो। सूचना अनुसार निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय अमेरिकी डलर रहेको छ। यो आजदेखि नै लागु हुनेछ। यो मूल्य सन् २०२३ को डिसेम्बरसम्म लागु हुने सूचनामा उल्लेख गरिएको छ।

न्यूनतम निर्यात मूल्य निर्धारण भएपछि निर्यात हुने प्याज थप महँगो हुनेछ। निर्यातका लागि महँगो हुँदा आन्तरिक बजारमा आपूर्ति बढ्ने र मूल्य सन्तुलन हुने विश्वासमा भारत सरकारले मूल्य निर्धारण गरेको हो। यसअघि निर्यात हुँदा आयातकर्ता र निर्यातकर्ताको सहमतिमा मूल्य निर्धारण हुँदै आएको थियो। 

न्यूनतम मूल्य निर्धारणपछि नेपाली बजारमा पनि प्याजको मूल्य आकाशिने भएको छ। यो मूल्य निर्धारणपछि भारतबाटै प्रतिकिलो १०५ रुपैयाँभन्दा बढीमा आउनेछ। त्यसमा लाग्ने मूल्यअभिवृद्धि कर तथा अन्य व्यापारिक लागतले मूल्य आकाशिने भएको छ। 

भ्याट लागेपछि प्याजको आयातमा अस्वाभाविक गिरावट भ्याट लागेपछि प्याजको आयातमा अस्वाभाविक गिरावट

भारतले आन्तरिक उत्पादनमा वृद्धि नभएपछि प्याजको निर्यातलाई निरुत्साहित गर्दै आएको छ। यसअघि निर्यातमा ४० प्रतिशत कर लगाइएको थियो। यसरी कर लगाउँदा पनि मूल्यवृद्धि नियन्त्रण नभएपछि भारतले न्यूनतम मूल्य निर्धारण गरेको हो। 

भारतको नयाँ दिल्लीमा प्याजको मूल्य किलोको ६७ भारुसम्म पुगेको छ। यो नेपाली बजारको तुलनामा पनि महँगो हो। पछिल्लो समय मूल्यमा उछाल आएपछि बफर स्टकबाट निकालिएको छ भने थप खरिद पनि गरिएको छ। 

भारत सरकारको यो निर्णयबाट नेपाली बजारमा प्याजको मूल्यमा थप दबाब पर्ने देखिएको छ।

नेपालले आफूलाई चाहिने प्याजको १० प्रतिशत मात्र उत्पादन गर्ने अनुमान रहेको छ। नेपालसँग प्याज उत्पादन, स्टक तथा मागको तथ्यांक नभएकाले यसको यकिन तथ्यांक भने छैन। मागको अधिक भाग आयातमै पर पर्ने अवस्था रहेको छ। आयात भारतबाटै हुन्छ। प्याजको अफसिजन भएकाले यही बेला भारतीय बजारमा अभाव भएर मूल्य बढ्नसक्ने भएकाले भारतले निर्यात निरुत्साहित गरिरहेको छ।


प्रकाशित : आइतबार, कात्तिक १२ २०८००५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend