बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

विदेशमा १२ वर्ष बिताएर फर्किएका रुक्मागत गाईपालनबाट गर्दैछन् मनग्य आम्दानी

शनिबार, कात्तिक ११ २०८०
विदेशमा १२ वर्ष बिताएर फर्किएका रुक्मागत गाईपालनबाट गर्दैछन् मनग्य आम्दानी

दूध बिक्रीबाट मासिक एक लाखदेखि डेढ लाख रूपैयाँसम्मको कारोबार हुने गरेको रुक्मागत न्यौपाने बताउँछन्। विदेशमा जस्तो कमाइ नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा उनी खुसी छन्।

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुंगाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुलुकमा १२ वर्ष बिताए। विदेशको कमाइबाट सन्तुष्ट हुन नसकेपछि उनी स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए। न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुरु गरे।

उत्तरवाहिनी पशुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुर्रा जातका भैँसीबाट व्यवसाय सुरु गरेका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन्। गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुक्तरुपमा ३२ लाख रूपैयाँको लगानीबाट सुरु गरिएको थियो। विविध कारणले सहकार्य गरेका साथीहरुले एक वर्ष नहुँदै व्यवसायबाट हात झिकेपछि न्यौपानेले एक्लैले फार्म सञ्चालन गरे।

'सुरुका दुई वर्ष संयुक्तरुपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूर्ण अधिकार मसँग आएपछि गाई पाल्न सुरु गरेको हुँ', उनले भने, 'अहिले फार्ममा ६ वटा दुहुना, तीनवटा ब्याउने र सात बाच्छाबाच्छी छन्। उनले गाईपालनका लागि नेपियर, जौघाँस, मकैघाँसलगायत उन्नत जातका घाँससमेत लगाएका छन्।

एउटा गाईले दैनिक सात देखि १५ लिटरसम्म दूध दिने गरेको उनले बताए। दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका उनले स्थानीय बजार र तुल्सीभञ्ज्याङ साना किसान दुग्ध संकलन केन्द्रमा दूध बिक्री गर्दै आएका छन्। स्थानीय बजारमा प्रतिलिटर एक सय रूपैयाँका दरले दूध बिक्री भए पनि साना किसान दुग्ध संकलन केन्द्रमा भने ल्याक्टो फ्याटका आधारमा दूधको मूल्य पर्ने न्यौपानेले बताए।

'दूध बिक्रीबाट मासिक एक लाखदेखि डेढ लाख रूपैयाँसम्मको कारोबार हुन्छ, खर्च कटाउँदा ४०/५० हजार रूपैयाँ जति बचत हुन्छ', न्यौपानेले थपे, 'विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुसी छु।' उनले गल्याङ नगरपालिकाले दिएको दूधमा प्रतिलिटर १५ रूपैयाँ अनुदान कार्यक्रमले हौसला मिलेको बताए।

'जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँपकटरसहित हालसम्म ६ लाखभन्दा बढीको अनुदान पाएको छु', न्यौपानले भने, 'सरकारी निकायबाट राम्रो सेवासुविधा पाएको छु।' उनले गएको आर्थिक वर्षमा एक लाख रूपैयाँको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर १५ रूपैयाँ अनुदानअन्तर्गतको रकम पाएका थिए।

न्यौपानेको गाई फार्ममा हाल तीनजनाले रोजगार पाएका छन्। श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उनको भनाइ छ। 'म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ', न्यौपानेले भने, 'लम्पी स्किन रोगले सताए पनि गाईपालनमा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाईपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ।'

श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमानसँग काम गर्न पाउँदा खुसी मिलेको बताइन्। 'उहाँ विदेशमा हुँदा कहिले के हुने हो भन्ने चिन्ता हुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो,' कमलाले भनिन्, 'अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुखदु:खमा सँगै हुन पाएका छौँ।' उनले गाईपालन व्यावसायबाट आत्मसन्तुष्टि मिलेको बताइन्।

नगरपालिकाका पशु शाखाप्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर १५ रूपैयाँ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निःशुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताए। उनले कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासा टिपोट गर्ने र सल्लाह दिने गरिएको बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend