बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कालिजले पाएन बजार, लागतअनुसार मूल्यसमेत नपाउँदा मर्कामा किसान

शनिबार, कात्तिक ११ २०८०
कालिजले पाएन बजार, लागतअनुसार मूल्यसमेत नपाउँदा मर्कामा किसान

कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ। म्याग्दी र आसपासका क्षेत्रका किसानले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो।

म्याग्दी- कालिजले बजार नपाउँदा किसान निराश भएका छन्। बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन्। लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार दुई वर्षअघि जिल्लाभर ६ वटा कालिज फार्म रहेकामा हाल एउटामात्र सञ्चालनमा रहेको छ। सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्यून मात्रामा कालिज पालिएका छन्। तीन हजारभन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल दुई सय ५० वटाको हाराहारीमा कालिज रहेका हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिए।

'सुरुमा बजार र मूल्य राम्रो थियो, अहिले माग आउन र बजार पाउन छाडेपछि संख्या घटाएका छौँ,' उनले भने, 'दानाको मूल्य महँगिने र लागतअनुसार मूल्य नपर्ने हुँदा कालिजपालन फस्टाउन सकेन।'

कालिजलाई वन कुखुरा भनेर चिन्ने गरिन्छ। ‘राउन नेक’ जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ। पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ। एउटा भाले कालिजको मूल्य दुई हजार पाँच सय रूपैयाँदेखि तीन हजार र पोथीको मूल्य दुई हजारसम्म एक छ। 

चल्लाको मूल्य प्रतिगोटा आठ सयदेखि आठ सय ५० रूपैयाँ छ। पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खानयोग्य हुन्छन्। म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्वतको जलजला गाउँपालिका-५ लेकफाँटमा विसं २०७८ मा स्थापना भएको यमितादह कृषि तथा पशुपक्षी फार्ममा हाल एक हजार दुई सय गोटा बिक्रीयोग्य कालिज छन्। 

'दिनमा चार हजारको दाना खान्छ, पाँच महिनामा बिक्री गर्नुपर्ने कालिज एक वर्षमा पनि बिकेको छैन,' यमितादह कृषि तथा पशुपक्षी फार्मका कर्मचारी मनबहादुर पुनले भने, 'गाउँघरमा यसको उपभोक्ता छैनन्। बजारमा कालिजको बिक्री घटेको छ।'

सो फार्ममा बेलायतमा रहेका हर्कबहादुर पुनले ६० लाख रूपैयाँ लगानी गरेर तीन रोपनी जमिनमा कालिजपालन गरेका हुन्। कालिजको चल्ला उत्पादन गर्ने ‘ह्याचिङ’ मेसिन भए पनि चल्लाको माग नभएकाले मेसिन प्रयोग भएको छैन। कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन्। कालिज बिक्री गराउन पोखरामा रेष्टुरेन्ट खोल्न लागेको पुनले बताए।

कालिज सुत्केरी र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ। म्याग्दी र आसपासका क्षेत्रका किसानले उत्पादन गरेको कालिज खपत हुने बजार बेनी, गलेश्वर, तातोपानी, कुश्मा, पोखरा, जोमसोम र घोडेपानी हो। आन्तरिक पर्यटक कालिजका उपभोक्ता हुन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका प्राविधिक गणेश रिजालले मानिसहरुको खर्च गर्ने क्षमतामा आएको कमीको असर कालिजपालनमा परेको बताए।

'उपभोक्ताहरुसँग पैसा धेरै हुँदा कालिज, च्याङ्ग्रा, खसी, बोकाको खपत धेरै थियो,' उनले भने, 'पछिल्लो समय कालिजको मात्र नभएर खसी-बोका, लोकल कुखुरा र च्याङ्ग्राको मासुको खपत पनि घट्न थालेको छ।'

धेरै समय कालिज पाल्दा दानामा लगानी बढ्ने भएकाले सुकुटी बनाउने, ‘डिपफ्रिज’ गर्ने र आन्तरिक बजारीकरण गर्नुपर्ने सुझाव किसानलाई पशु सेवा प्राविधिकहरुले दिएका छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक ११ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend