मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि काठमाडौंमा

बिहीबार , कात्तिक २ २०८०
हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि काठमाडौंमा

व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहनेछ। 

काठमाडौं- नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ । २० औं संस्करणको हस्तकला मेला राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ। 

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ। स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्‍याउने मेलाको लक्ष्य रहेको छ। 

मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने आयोजक नेपाल हस्तकला महासंघले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। मेलामा विदेशी प्रदर्शनीकर्ताले समेत भाग लिने जनाइएको छ । जसअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट सहभागिता रहने महासंघले जनाएको छ । 

व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहनेछ। 

महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन्। यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा रहने उनले बताए। 

‘सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ,’ अध्यक्ष शाक्यले भने। 

 


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend