बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदेशको सिप स्वदेशमा उपयोग गर्ने प्रतिबद्धतासहित एनआरएनए उपाध्यक्षमा भिड्दै केसी

मंगलबार, असोज ३० २०८०
विदेशको सिप स्वदेशमा उपयोग गर्ने प्रतिबद्धतासहित एनआरएनए उपाध्यक्षमा भिड्दै केसी

अदक्ष नेपालीलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले नेपालका सातै प्रदेशमा व्यावसायिक सिप तालिम केन्द्र स्थापना गर्ने घोषणा समेत गरे।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेद्‌वार रहेका गणेश केसीले युवाहरुले परदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण मिलाउनुपर्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा पत्रकाहरुसँग अन्तरक्रिया गर्दै केसीले युवाहरुले विदेशमा सिकेको सिप नेपालमा प्रयोग गर्ने अवस्था बनेमा रोजगारीका अवसर सिर्जना हुने बताए। आफ्नो मुख्य एजेन्डा नै यही रहेको दाबी गरेका उनले देशमै रोजगारी सिर्जना हुँदा युवा पलायनलाई रोक्न सकिने बताए।

‘ऊर्जनशील शिक्षित युवाहरूको विदेश पलायनबाट देशले उनीहरूले पठाउने रेमिट्यान्स त पाउँछन् तर देशका लागि आवश्यक सक्षम ऊर्जनशील युवाहरूको साथ र सहयोग भने अवश्य पाउँदैनन्,’ उनले भने, ‘पलायन भएका युवाहरूले परदेशमा सिकेका सिपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण मिलाउने तथा दैनिक हजारौँ युवाको विदेश पलायनलाई रोक्ने संयन्त्रको विकास गर्न सरकार चुकिरहेको छ। देशमा नै सिपमूलक शिक्षाको विकास तथा पर्याप्त रोजगारीको अवसर दिएर उनीहरूलाई पलायन हुनबाट रोक्न सकिन्छ।’

युवाहरुलाई पलायन हुनबाट रोक्ने र पलायन भएकाहरुलाई फर्काउने नीति सरकारले ल्याउनुपर्ने बताउँदै केसीले शिक्षा प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने जिकिर गरे। ‘सरकारले बाहिर जाने सोचमा रहेका युवालाई रोक्ने र विदेशिएकालाई फर्काउने नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘यसमा सरकारले लगानीको वातावरण बनाउनु पर्दछ। त्यसको अलावा शैक्षिक नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्छ। सिपमूलक शिक्षा र व्यावहारिक शिक्षा दिनुपर्छ।’

सिप नसिकी विदेशिएकाहरुले विदेशमा पनि राम्रो काम पाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। अदक्ष नेपालीलाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले नेपालका सातै प्रदेशमा व्यावसायिक सिप तालिम केन्द्र स्थापना गर्ने घोषणा समेत गरे।

रोजगारीका सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सबै कार्य तथा प्रक्रियाको निःशुल्क परामर्श दिने देखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने योजनामा आफू क्रियाशील रहेको उनको भनाइ छ।

उनी एनआरएनएका संस्थापक साधारण सदस्य समेत हुन्। उनी यसअघि एनआरएनए अष्ट्रेलियाको अध्यक्ष, अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्य, एनआरएनए आईसीसीका उपमहासचिव र एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख भएर काम गरिसकेका छन्। उनले एनआरएनएले अगाडि बढाएको हाइड्रो कलेक्टिम इनमेष्टमेन्टअन्तर्गत कार्यक्रमका लागि अष्ट्रेलियाबाट २७ करोड रुपैयाँ संकलन गरेका थिए।

एनआरएनएको भवन निर्माणमा सक्रियता पूर्वक खटेका उनले भवन निर्माणका लागि २ करोड सहयोग संकलन गरेका थिए। मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा उनले करिब १ करोड रुपैयाँ संकलन गरेका थिए।


प्रकाशित : मंगलबार, असोज ३० २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend