बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

शनिबार, असोज २७ २०८०
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

‘जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्’ उनले भनिन्।  

रामपुर-  ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्।गाउँका बारी कोदो खेतीले भरिन्थे।गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो।पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा।

‘जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्’ उनले भनिन्।  

गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झण्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ।पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा जिल्लामै यसको खेती कम मात्रामा गरिन्छ।कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले  बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन्।युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन ।

दश वर्षअघिसम्म जिल्लाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो।गाउँका बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो।तर अहिले  गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्।पहिला–पहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो।वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यवसायीकरण रुपमा खेती गर्न छाडिएको छ।

अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरे तापनि किसान आफँैले खेती गर्न रुचि नदेखाउँदा अहिले व्यवसायीकरण हुन छाडेको रामपुर–१ कुमैडाँडाका अर्का कृषक गोवद्र्धन वंशी बताउछन्। 

यस वर्ष वंशीले करिब एक रोपनी जग्गामा कोदो लगाएका छन्। मानिसको स्वास्थ्यका लागि कोदोको महत्व धेरै रहे पनि खेती गर्ने जनशक्ति गाउँमा नहुँदा उत्पादन कम हुँदै गएको कविता सुनारले बताइन्। 

बजारमा कोदोको माग भने पछिल्ला वर्षमा बढ्दो छ।गाउँका धेरै किसानलले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन्।औषधिका रुपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ।गाउँघरमा विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि नयाँ पुस्ता कोदो खेतीबारे अवविज्ञ बनेका छन्।कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण घट्दै गएको छ।बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन्।ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको छ।परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि कमै देख्न सकिन्छ।

खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन्।गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ।सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन्।स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ।धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको हो।

गाउँघरमा परम्परागत रुपमा खेती गरिदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ।बजारका ठूला–ठूला होटल रेष्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ।कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ।घरबास (होमस्टे) मा विशेष गरी कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ।

कुनै समय गाउँघरमा बिहान साँझको जीविकाका लागि पाक्ने कोदो हिजोआज सहर बजारका ठूला–ठूला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ।अहिले गाउँघरमा कोदोको परिकार खासै पाक्दैनन् तर सहर बजारका होटलमा यसको परिकार ग्राहकको रोजाइमा परेको छ।पहिला–पहिला कोदो गरिब, विपन्नको घरमा खाने अनाजको रुपमा समेत लिइन्थ्यो भने अहिले ठूला घर परिवारका सदस्यको रोजाइमा कोदो पर्दछ।रासस


प्रकाशित : शनिबार, असोज २७ २०८००३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend