बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बिरुवा उत्पादनले बदलियो पहिचान, नर्सरीबाटै धमाधम बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २६ २०८०
बिरुवा उत्पादनले बदलियो पहिचान, नर्सरीबाटै धमाधम बिक्री

व्यावसायिक तरकारी खेती गरेका उनले तरकारीको बजारीकरण, उत्पादन लिन धेरै समय, रोग कीराको समस्याका कारण एक दशकयता भने बिरुवा उत्पादनलाई जोड दिएका छन्।

पाल्पा- पाल्पाको रामपुर नगरपालिका-६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ। बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहेका बस्यालले समयानुकुल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहेका छन्। 

उनको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन्। बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट नाम र दाम दुवै मिलेको बताए। 'बिरुवा उत्पादन सुरु गरेदेखि समाजमा मेरो पहिचान फेरिएको छ, छोटो समयमा आम्दानी हात परिरहेको छ, घरमै बसेर बिरुवा उत्पादन गरी बिक्री कार्यमै दिनहरू बित्छन्', उनले भने।

तरकारी खेतीको तुलनामा बिरुवाबाट छोटो समयमा आम्दानी तत्काल लिन पाइने, बिरुवा बिक्रीका लागि समस्या नरहेको बस्यालले बताए। व्यावसायिक तरकारी खेती गरेका उनले तरकारीको बजारीकरण, उत्पादन लिन धेरै समय, रोग कीराको समस्याका कारण एक दशकयता भने बिरुवा उत्पादनलाई जोड दिएका छन्।

'तरकारीको तुलनामा बिरुवाबाट धेरै फाइदा छ, तरकारीले बजार नपाएर कुहाएर फाल्नुपर्ने अवस्था पनि आउँछ', उनले भने, 'लागतअनुसारको मूल्य पाइँदैन, रोग कीराले सताउने गर्छ, बिरुवा बेच्न धेरै सजिलो छ।' उनले एक वर्षमा करिब एक लाख बराबरको बिरुवा बिक्री गर्छन्। नर्सरीबाटै धमाधम बिरुवा बिक्री भइरहेको छ।

पाल्पाको रामपुरलगायत छिमेकी जिल्ला, स्याङ्जा, तनहुँलगायतका स्थानबाट ग्राहक घरमै बिरुवा खरिद गर्न आउने गरेको बस्यालको भनाइ छ। बिरुवा बिक्रीबाट घर खर्च चलाउन धेरै सजिलो भएको उनी बताउँछन्। बस्यालले बिरुवा उत्पादनका अलवा पशुपालन, कुटानी पिसानी मिलसमेत सञ्चालन गर्दै आएका छन्।

सोही ठाउँकै अर्का कृषक राधिका बस्यालले बिरुवा बिक्रीबाटै गत वर्ष १ लाख ४० हजार बराबरको आम्दानी गरिन्। यस वर्ष पनि सो बराबरकै आम्दानी हुने उनको अनुमान छ। विगत आठ वर्षदेखि बिरुवा उत्पादन गरिहेकी राधिकाले यस व्यवसायबाट आफू समाजमा चिनिने अवसर पाएकामा खुसी व्यक्त गर्छिन्।

उनी भन्छिन्, 'पहिला घरपरिवार, आफन्त, साथीभाइले मात्रै चिन्नुहुन्थ्यो, अहिले यस व्यवसायका कारण धेरैका सामु व्यावसायिक कृषकको रूपमा परिचित हुन पाउँदा खुसी लागेको छ।' बिरुवा उत्पादनका अलवा घरमा पशुपालन, धान, गहुँ, मकै, तरकारी खेती गरिरहेको उनी बताउँछिन्। 

आफैँले बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि अरुको भर पर्नु नपरेको उनको भनाइ छ। घरायसी कामधन्दासँगै आयआर्जनका लागि मौसमी तथा बेमौसमी विभिन्न जातका बिरुवा लगाएर आत्मनिर्भर बन्न सकिने राधिकाको अनुभव छ।

यतिबेला यहाँका किसानलाई ग्राहकको मागअनुसार बिरुवा पुर्याउन समस्या भइरहेको छ। बेमौसमी बिरुवा उत्पादन गर्ने किसान कम भएकाले बिरुवा खरिद गर्न आउने बर्सेनि ग्राहक बढिरहेका छन्। बिरुवा राम्रो पाइने भएकाले पनि धेरै ग्राहकले खोजी-खोजी घरमै पुगेर खरिद गर्ने गर्दछन्।

राम्रो मूल्य लिनका लागि यहाँका किसानले असोज र कात्तिकमा काउली, बन्दा, गोलभेँडा, ब्रोकाउली, प्याजका बिरुवा उत्पादन गर्छन् भने माघ र फागुनमा लहरेबालीका बिरुवा उत्पादन गरी बिक्री गरिरहेका हुन्छन्। बेमौसमीयामका बिरुवा भएकाले किसानले मूल्य राम्रै पाउँछन्। अहिले काउली र बन्दाको प्रतिबोट बिरुवा पाँच रुपैयाँमा बिक्री भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, असोज २६ २०८०११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend