बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कृषिबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्ने धनबहादुर भन्छन् - दु:ख गरे स्वदेशमै कमाउन सकिन्छ

बुधबार, असोज २४ २०८०
कृषिबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्ने धनबहादुर भन्छन् - दु:ख गरे स्वदेशमै कमाउन सकिन्छ

पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका धनबहादुर थापाले वर्षमा लाखाैँ रूपैयाँ आम्दानी गर्ने गरेका छन्। उनले मौरी, बाख्रा र कुखुरापालन गरिरहेका छन्। कृषक थापा फलफूल तथा घाँस खेतीमा पनि सक्रिय छन्।

दमौली- तनहुँको भिमाद नगरपालिका-३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ। ५० वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक १२ लाख रूपैयाँ आम्दानी गरिरहेका छन्।

विसं २०७५ मा ‘सप्तरंगी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उनले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रुपमा कृषि पेसा सुरु गरेका हुन्। 'बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु। बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ', थापाले भने।

पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यस वर्ष १२ लाख रूपैयाँ आम्दानी गरेको बताए। उनका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन्। यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै चार लाख रूपैयाँ आम्दानी भएको थापाले जानकारी दिए। उनका अनुसार एक गोला मौरीसहितको घार दश हजार रूपैयाँ र महको मानाको एक हजार रूपैयाँमा बिक्री हुने गरेको छ।

त्यस्तै एक हजार एक सय कुखुरा बिक्री गरी पाँच लाख रूपैयाँ र बाख्राबाट तीन लाख रूपैयाँ आम्दानी भएको थापाको भनाइ थियो। मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले दुई लाख रूपैयाँ, भीमाद नगरपालिकाले खानेपानीको पाइप खरिदका लागि ७० हजार रूपैयाँ अनुदान दिएको उनले जानकारी दिए। उनका अनुसार उक्त आम्दानी फार्मको स्तरोन्नतिमा खर्च भएको छ।

४० रोपनी जग्गामा कृषि पेसा सुरु गरेका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गरेका छन्। उनले भने, 'विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिएँ। यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिकस्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ।'

स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भइसकेका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ।

'युवाहरु रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन्। उनीहरुलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ', थापाले भने, 'दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ।'

उनको बगैँचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी तीन लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताए। सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उनको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, असोज २४ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend