बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुर्गम फक्ताङलुङ मुरिङलामा फोरजीमार्फत इन्टरनेट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १९ २०८०
दुर्गम फक्ताङलुङ मुरिङलामा फोरजीमार्फत इन्टरनेट

ताप्लेजुङ- पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ। गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो।

केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन्। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मुरिङला डाँडामा बिहीबारदेखि फोरजी सेवा सुरु भएसँगै आफ्नै घरबाट इन्टरनेट प्रयोग गर्न पाएको स्थानीय रोशन लिम्बूले बताए। 

गत भदौको पहिलो साता फक्ताङलुङको लोवा डाँडामा नेपाल टेलिकमले फोरजी टावरमार्फत सेवा सुरु गरेको थियो। उक्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चार क्षेत्रमा फड्को मारेको छ। फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा इन्टरनेटको सुविधा पुगेको दूरसञ्चार कार्यालय ताप्लेजुङले जनाएको छ। 

फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुङ गाउँपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन्। यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि सहजता थपिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए।

विसं २०७४ मा पालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्रै यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो। टुजी सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएपछि फोरजी सेवा विस्तार गरिएको टेलिकम कार्यालयले जनाएको छ।

गाउँपालिकाको तल्लो भेग वडा नं १, २, ३, ४, सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा यसअघि नै फोरजी सेवा विस्तार भइसकेको अध्यक्ष लिम्बूले बताए। सेवा विस्तारका लागि आवश्यक सामग्री ढुवानीदेखि यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी पालिकाले गरेको उनको भनाइ थियो।

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ को हिलेखर्कमा फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको छ। फक्ताङलुङ गाउँपालिकाको सबै क्षेत्रमा अबको एक वर्षभित्रमा फोरजी सेवा विस्तार हुने उनले बताए।

आजको आधुनिक समयमा पनि इन्टरनेटबाट टाढा हुँदा खबर आदानप्रदानमा समस्या हुने गरेको स्थानीय मिङ्मा शेर्पाले बताए। सेवा विस्तार भएपछि विदेशमा रहेका आफन्त तथा छोराछोरीसँग कुराकानी गर्न र खबर आदानप्रदान गर्न सहज भएको उनको भनाइ थियो।

बुधबारदेखि ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ। योसँगै गाउँगाउँसम्म इन्टरनेट सेवा विस्तार हुँदा सञ्चारसँगको पहुँच विस्तार हुँदै गएको स्थानीय बताउँछन्। रासस


प्रकाशित : शुक्रबार, असोज १९ २०८०१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend