मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

लगानीकर्ता ज्ञान अभिवृद्धिमा बोर्ड र महासंघबीच सहकार्य

बिहीबार , असोज १८ २०८०
लगानीकर्ता ज्ञान अभिवृद्धिमा बोर्ड र महासंघबीच सहकार्य

काठमाडौं-  पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच पुँजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

 विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो। उक्त समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा बोर्डका हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित हुने बताएका थिए। 

धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि हुने उनको तर्क थियो। कार्यक्रममा महासंघका अध्यक्ष ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जाल मार्फत धितोपत्र बजार सम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने हुँदा समझदारी गरिएको बताएका थिए।

करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार बिकासमा सरकार सम्वेदनशील हुनुपर्ने अध्यक्ष ढकाललको भनाइ थियो।  उक्त कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई हेर्दा बजार सम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता देखि समझदारी गर्ने प्रकृया अगाडि बढाईएको बताएका थिए। महासंघ उपाध्यक्षद्धय  हेमराज ढकाल र ज्योत्स्यना श्रेष्ठले पूँजी बजार विस्तारमा यस समझदारीले सहयोग पुग्ने बताएका थिए।


प्रकाशित : बिहीबार , असोज १८ २०८०१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend