बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काम्रो बाँध्नुपर्ने 'उच्च प्रविधि'को इम्बोस्ड नम्बर प्लेट

प्लेट राख्ने ग्लोबल स्ट्यान्डर्ड एउटा, इम्बोस्ड डिजाइन अर्कै 

शुक्रबार, असोज १९ २०८०
काम्रो बाँध्नुपर्ने 'उच्च प्रविधि'को इम्बोस्ड नम्बर प्लेट

जडान सुरु भएदेखि नै इम्बोस्ड नम्बर प्लेटको गुणस्तरबारे प्रश्न उठ्दै आएको छ। कमसल कच्चापदार्थ प्रयोग गरेर इम्बोस्ड नम्बर प्लेटको पाता तयार गरिएकाले सयौँ प्लेटहरू जोडेको ठाउँबाट फाट्टिने र बीचबाट चिरिएर जाने गरेको छ।

काठमाडौं- सरकारले सवारीसाधनमा उच्च प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गरेर करदेखि सवारीको रेकर्डसमेत प्रविधिमार्फत गर्ने भन्दै इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्यायो। लामो रस्साकस्सी र अदालती झमेला झेलेर इम्बोस्ड नम्बर प्लेट जडान सुरु भयो तर जडान सुरु भएदेखि नै इम्बोस्ड नम्बर प्लेटको गुणस्तरबारे प्रश्न उठ्दै आएको छ।

कमसल कच्चा पदार्थ प्रयोग गरेर इम्बोस्ड नम्बर प्लेटको पाता तयार गरिएकाले सयौँ प्लेटहरू जोडेको ठाउँबाट फाट्टिने र बीचबाट चिरिएर जाने गरेको छ। इम्बोस्ड नम्बर प्लेट जोड्ने सवारी धनीहरू प्लेटकै बनोट र जडानसम्बद्ध अनेकन समस्याबाट पीडित हुन थालेका छन्।

सरकारले गएको मंसिरदेखि नयाँ दर्ता हुने सवारीमा अनिवार्य जडान गर्ने निर्णय गरेको इम्बोस्ड प्लेट २०७९ फागुनबाट नामसारी तथा २०८० जेठबाट ब्लूबुक नवीकरणमा पनि अनिवार्य गर्ने बताएको थियो तर सरकारले तय गरेको तालिकाअनुरुप इम्बोस्ड जडान हुन भने सकेको छैन। 

हालसम्म ७० हजार सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान भएको छैन तर जडान भएकैमध्येमा प्लेटको गुणस्तर र जडान पद्धतिमै प्रश्न उठेको छ। गाडी तथा मोटरसाइकलमा जोडेको प्लेट नटिक्ने समस्या आइसकेको छ। 

यातायात व्यवस्था विभागले इम्बोस्ड कार्यान्वयनका क्रममा एकपटक जोडेको इम्बोस्ड प्लेट निकाल्न खोजे च्यात्नै पर्ने भएकाले सवारी चोरीको समस्या नआउने दाबी गरेको थियो। यता प्लेट र त्यसलाई अड्याउने होल्डर नै च्यातिने समस्या देखिएपछि इम्बोस्ड प्लेटको सुरक्षात्मक पक्ष झनै कमजोर रहेको देखिएको छ। इम्बोस्ड नम्बर जडान गरेका सयौँ मोटरसाइकल धनीहरूले प्लेट च्यातिएर स्क्रु खसेपछि डोरिले काम्रो कसे झैँ इम्बोस्ड नम्बर प्लेटलाई कसेर हिँडेको सडकमा छ्यापछ्याप्पी देखिन थालेका छन्।

त्यस्तैगरी इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा समेत त्रुटी देखिएको छ। विशेषगरि कारको पछिल्लो भागमा नम्बर प्लेट जडान गर्न ‘ग्लोबल स्ट्यान्डर्ड’ अनुसारकै ठाउँ बनाइएको हुन्छ तर नेपालमा जडान गर्न लागिएको उच्च प्रविधियुक्त भनिएको इम्बोस्ड नम्बर प्लेटको डिजाइनले भने उक्त ‘ग्लोबल स्ट्यान्डर्ड’लाई नै चुनौती दिएको छ। 

imbosed 1.jpg

कारमा रेक्ट्यांगल आकारको प्लेट राख्ने ठाउँ डिजाइन गरिएको छ भने इम्बोस्ड नम्बर प्लेटको डिजाइन स्क्वायर आकारको छ। जसका कारण इम्बोस्ड नम्बर प्लेट कारको नम्बर प्लेट राख्न तय गरिएको ‘घर’बाट बाहिर निस्कन्छ। यसरी बाहिर निस्कँदा नम्बर प्लेट कुच्चिने र भाँचिने जोखिम धेरै हुन्छ र भाँचिइरहेको पनि छ।

यता विभागले भने गुणस्तरमा कुनै सम्झौता नगरिएको दाबी गरेको छ। एक/दुई वटामा केही जडानगत वा अन्य समस्या आएको हुनसक्ने जिकिर विभागको छ। इम्बोस्ड नम्बर प्लेटको पाता गुणस्तरीय रहेको र त्यसैमा लेखिएको इम्बोस्ड नम्बर प्लटेमा समस्या आउनु नपर्ने विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेल बताउँछन्।

यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर आईटीबीच २०७३ बैशाखमा ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेगरि सम्झौता भएको थियो। सोअवधि २०७८ बैशाखमा सकिएको हो। त्यसपछि २०७८ मंसिरमा विभाग र डेकाटुर टाइगर आईटीबीच २ वर्ष समय थप गर्ने र सो अवधिमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो। तर उक्त २ वर्षको समय पनि यही मंसिरमा सकिँदै छ। पुनः २ वर्ष समय थप गर्ने विषयमा छलफल सुरु भएको छ। 

जति धेरै संख्यामा इम्बोस्ड नम्बर जडान हुँदै जान्छ प्लेट भाँचिने र बिग्रने क्रम बढ्दै जाने छ। त्यसैले विभागले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको डेकाटुर टाइगर आईटीलाई गुणस्तरको बारेमा सचेत गराउनु पर्छ। महँगो मूल्यमा जडान गरिएका नम्बर प्लेट बिग्रिएर पुनः जोड्नु पर्दा उपभोक्तालाई दोहोरो मार पर्छ।  

imbosed.jpg

कति लाग्छ लागत?

विभागले तोकेको शुल्कअनुसार मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताले प्रतिसाधन २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ।

त्यस्तै तीनपांग्रे सवारीधनीले २ हजार ९ सय रुपैयाँ र चारपांग्रे अर्थात कार, जिप तथा भ्यान र मझौला सवारीधनीले ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। 

ठूला तथा हेवी सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा सबैभन्दा धेरै ३ हजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ। 

सरकारले डेकाटुर टाइगर आईटीलाई तिर्ने रकम 

दुईपांग्रे सवारी- १४.५० डलर

तीनपांग्रे सवारी- १७.५० डलर 

चारपांग्रे तथा मझौला सवारी- १७.७० डलर 

ठूला सवारी- १९ डलर 

सम्झौता भएको समयमा अमेरिकी डलरको नेपाली सटही मूल्य १ डलरको करिब १ सय १० रुपैयाँ थियो। यस हिसाबले सरकारले प्रतिप्लेट न्यूनतम १ हजार रुपैयाँ नाफा राखेको थियो।

नम्बर प्लेट रिड गर्ने पूर्वाधार नै छैन

इम्बोस्ड नम्बर प्लेट जडान रोकिएसँगै आरएफआइडी ट्र्याकिङ गेट निर्माणको कामसमेत रोकिएको थियो। उक्त काम भने अहिले पनि सुरु भएको छैन। आरएफआइडी गेटको काम सवारी साधनमा जडान गरिएको प्लेटमा रहेको चिप्सलाई ट्र्याकिङ गर्दै विवरण हेर्न मिल्ने गेट हो। 

उपत्यका छिर्ने ५ ठाउँमा र उपत्यकाबाहिर ५ ठाउँमा यस्तो गेट निर्माण गर्ने काम इम्बोस्ड नम्बर आपूर्तिकर्ता कम्पनीले नै गर्ने सम्झौता भएको थियो। सवारीसाधनमा अगाडि र पछाडि गरी दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान गरिन्छ। त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआइडी स्टिकर’ भनिन्छ।

यही स्टिकरलाई आरएफआइडी ट्र्याकिङ गेटमा हुने ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस’ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न मिल्छ। यसका माध्यमबाट सवारीसाधनको विवरण थाहा पाउन सकिन्छ। तर नम्बर प्लेट नै भाँचिने र टुट्ने समस्या आउन थालिसक्दा रिड गर्ने उपकरण भने आएकै छैन। 


प्रकाशित : शुक्रबार, असोज १९ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend