बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टिंकरमा नेपाल टेलिकमले उपलब्ध गरायो मोबाइल सेवा

बुधबार, असोज १७ २०८०
टिंकरमा नेपाल टेलिकमले उपलब्ध गरायो मोबाइल सेवा

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिंकर क्षेत्रमा रहेका करिब ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन्।

काठमाडौं- नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।

मंगलबार (असोज १६) देखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहजरुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्। चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिंकर क्षेत्रमा रहेका करिब ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन्। यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन्।

करिब ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ। त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ।

टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।


प्रकाशित : बुधबार, असोज १७ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend