बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

सेयर विश्लेषक भन्छन्- ‘बजार घट्ने टेको लागिसक्यो अब बढ्ने नै हो’

images
बिहीबार , मंसिर २ २०७८
images
सेयर विश्लेषक भन्छन्- ‘बजार घट्ने टेको लागिसक्यो अब बढ्ने नै हो’
images
images

काठमाडौं- पछिल्लो तीन दिन बढेको सेयर बजारमा साताको अन्तिम दिन भने गिरावट आएको छ। तीन दिनमा ११२.६१ अंकले बढेको बजार बिहीबार भने ३२.३९ अंकले घटेको छ।

images
images
images

आइतबार थोरै मात्रै घटेको बजार सोमबार, मंगलबार र बुधबार दोहोरो अंकले बढेको थियो। तर बिहीबार भने बजारमा करेक्सन आएको छ। सेयर बजर परिसूचक नेप्से बुधबार १६.९५ अंकले बढेको थियो। मंगलबार ६९.२२ अंकले बढेको थियो भने सोमबार पनि २६.४४ अंकले बढेको थियो। आइतबार भने सेयर बजार १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा पुगेको थियो। 

images
images

बिहीबार ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा झरेको छ। बिहीबार ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। जहाँ १६० कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको मूल्य बढेको छ। ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

माथि पुगेर घटेको सेयर बजार अहिले भने केही घट्ने अनि बढ्ने भइरहेको छ, यसले बजारलाई स्थिर गराउँदै लगेको सेयर बजारका विश्लेषक छोटेलाल रौनियार बताउँछन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा नजिक आएकोले धेरै लगानीकर्ताको ध्यान त्यतातिर पनि केन्द्रित भएको रौनियार बताउँछन्।

‘३२ सय अंकबाट तल झरेको बजारमा सेयर धितो कर्जामा तोकिएको सीमाले मात्रै नभएर बैंकहरूमा भएको तरलता अभावले पनि समस्या पारेको हो,’ रौनियारले भने। राष्ट्र बैंकले ब्याज बढाउन नदिएपछि स्वत: बजार बढेको उनको बुझाइ छ। 

राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमालाई नहटाउने संकेत गरिसकेको छ। राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेको थियो। मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्त्तिगत तर्फ ४ करोड र परिवार/संस्थागततर्फ १२ करोड रुपैयाँ तोकेको थियो। चालु आवको मौद्रिक नीतिअघि यस्तो सीमा तोकिएको थिएन। 

साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र ‘सेयर धितो कर्जा’ सीमा कायम गरेको थियो। 

‘सेयरमा राखिएको ४ र १२ को भन्दा पनि बैंकको ब्याज मुख्य कुरा हो, अब ब्याजसँगै सबै कुरा सहज हुदै जाने छ,’ रौनियार बताउँछन्।  विगतमा बैंकहरूमा प्रर्याप्त तरलता रहेको अवस्थामा बैंकहरूले ब्याज ६ प्रतिशतसम्ममा ऋण प्रवाह गरेका थिए। 

बैंकहरूमा लागेको सीडी र सीसी रेसियोको विषय पनि अब मौद्रिक नीतिको समीक्षामा आाउने देखिएकोले केही सहज हुँदै जाने अनुमान विश्लेषक रौनियारको छ। 

अहिले सबै वित्तीय संस्थादेखि हाइड्रोका पनि वित्तीय विवरणहरू आइरहेका छन्। ‘सबैको राम्रो आइरहेको छ, सबैले लाभांश घोषणा गरेका छन्, अन्य कुराभन्दा पनि लगानीकर्ताले कम्पनीको वित्तीय विवरण हेरेर लाभांश दिने कम्पनी छनोट गर्नुपर्छ,’ रौनियारले भने। 

प्राविधिकहरूमा पनि अब बजार पहिलेको भन्दा माथि जाने संकेतहरू देखिएकोले लगानीकर्ता आत्तिन र डराउन पर्ने नरहेको उनको भनाइ छ। ‘बजारको घट्ने टेको लागि सकेको छ, अब बढ्ने नै हो’ रौनियारले भने। 


प्रकाशित : बिहीबार , मंसिर २ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend