बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

द्रुत बस सेवा : न यात्रु न त चालकमा नै देखिन्छ विश्वास, मात्र रमिता

द्रुत बसलाई बिहान ९ बजे नै रत्नपार्कबाट सूर्यविनायक पुग्न १ घण्टा ३ मिनेट

बिहीबार , असोज ४ २०८०
द्रुत बस सेवा : न यात्रु न त चालकमा नै देखिन्छ विश्वास, मात्र रमिता

भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने विषय बढाइचढाइ गरिएजस्तो ठूलो विषय होइन भन्ने नै देखियो। सामान्य समयमा अन्य सवारीका लागि पनि त्यो दुरी र समय ठूलो होइन। 

काठमाडौं- सामान्य कामका लागि ठूला तामझाम तर परिणाम शून्य। यस्ता निकै उदाहरण छन् जुन अनुसन्धान र प्रभावकारिताको अध्ययनबिना सुरु हुन्छ र प्रतिफल नदेखिँदै हराएर जान्छ। हराएर गएका त्यस्ता धेरै 'स्टन्ट'हरू विस्तारै नागरिकले बिर्सन्छन् र राज्यसत्तामा रहेकाहरू पुन: केही नयाँ गर्ने मेसोमा 'चटक' गरिबस्छन्। यस्तै देखिँदै छ- द्रुत बस सेवा।

निजामती कर्मचारीको तलब समायोजन गर्न बनेको समितिको सिफारिसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको तादतम्यमा रत्नपार्क-सूर्यविकायसम्म द्रुत बस सेवा बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ। द्रुत बस सेवा बुधबार मन्त्री ज्वाला, सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललगायतले तामझामसाथ सुरु गरेका थिए। 

२५ वटा बसमार्फत बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन सुरु गरिएको हो। भएकै सडकमा रातो रंग पोतेर द्रुत बस सेवाका लागि अलग्गै झल्किने लेन बनाइएको छ। रत्नपार्क-बनेपा रुटमा चल्ने बसलाई बिहान दुई घण्टा र अपरान्ह २ घण्टा द्रुत गतिमा चलाउन अनुमति दिइएको छ तर पहिलो दिन बिहीबार भने रत्नपार्कबाट सूर्यविनायक जान दुईवटा बसमात्र चलेका थिए। 

सरकारले पूर्वमूख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा निजामती कर्मचारीको तलब समायोजन गर्न बनाएको समितिले सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउन द्रुत बस सेवा सञ्चालनको सिफारिस गरेको थियो। द्रुत बस सेवा सञ्चालन हुँदा कर्मचारी समयमा कार्यालय पुग्ने र सेवा प्रभावकारी हुने उक्त समितिको सुझाव थियो। 

सडक अनुशासन कमजोर भएको नेपालजस्तो देशमा भएकै सडकमा रातो रङ लगाएर डेडिकेटेड सडक बनाउँदैमा त्यहाँ सहज र निर्वाध आवतजावत हुन सक्नेमा विश्वासभन्दा बढी शंका देखिन्छ।

बिहीबार पहिलो दिनको पहिलो यात्रामा पनि सडक अनुशासन फिटिक्कै देखिएन। स्कर्टिङका लागि एक सरकारी कर्मचारी स्वीफ्ट गाडीमा थिए। उनको पछिपछि द्रुत सेवाको बस गुडिरहेको थियो। बिहीबार बिहान ९ बजे नै द्रुत बसलाई रत्नपार्कबाट सूर्यविनायक पुग्न १ घण्टा ३ मिनेट लाग्यो जुन द्रुत नभनिएका अन्य सामान्य बसका लागि पनि असामान्य समय होइन। 

druta bus sewa (3).jpg

यस्तो हुन्छ द्रुत यात्रा?

बिहीबार बिहान ८ बजेर ५७ मिनेटमा द्रुत सेवाको बस रत्नपार्क आइपुग्यो। ९ बजेर १ मिनेटमा रत्नपार्क पुल मुनिबाट बस गुड्यो। जहाँ भद्रकाली माइतिघरमा एक तर्फबाट जानुपर्ने व्यवस्थापन छ। माइतिघरमा बस मोडिनै नगुग्ने गरी डिभाइडर राखिएकोले सकस देखियो। अन्य गाडीलाई रोकेरमात्रै द्रुत सेवाको बसलाई जान दिइएको थियो।

बानेश्वरमा द्रुत बस सेवाको स्टपमै अरू बस रोकिएको देखियो। स्कर्टिङको गाडी र द्रुत बसकै बीचमा ठिमी जाने अर्को बस छिरिदियो। ट्राफिक बत्तीमा पनि द्रुत सेवाको बस अरू बससरहै रोकिएको थियो। 

९ बजेर १७ मिनेट जाँदा बस मिनभवन पुगेर एक मिनेट रोकियो। उक्त बसलाई स्कर्टिङ गरिरहेको गाडी तीनकुने पुगेपछि अलमलमा परेको देखियो। जहाँ द्रुत बस दुई मिनेटभन्दा बढी तीनकुनेको ट्राफिक बत्तीमा रोकियो। 

कोटेश्वरमा रातो लगाइएको लेनमै अन्य सबै बस गुडिरहेका थिए जसले उक्त बस भनिएको जस्तो द्रुत र बिनारोकतोक चल्न सकेन। बस ९ बजेर ३१ मिनेट जाँदा कोटेश्वरबाट अघि बढ्यो। पुन: जडीबुटी पुलभन्दा वारि नै जाममा पर्‍यो। जडिबुटी पुगेपछि भने ट्राफिक प्रहरीले द्रुत सेवाका लागि रंग पोतिएको लेन खाली गराए। 

भएका बस स्टपहरू निकै असजिला देखिएका थिए। कौशलटार पुग्दा ९ बजेर ३९ मिनेट गएको थियो जहाँ ट्राफिक बत्तीमा एक मिनेट बस रोकियो। थिमी पुग्दा ९ बजेर ४९ मिनेट गएको थियो जहाँ ट्राफिक बत्तीमा पर्खाइका सँगै रूटका अन्य बसले ओभरटेक गरेर मान्छे चढाउने प्रतिस्पर्धा पनि गरिरहेका थिए। 

बस राधेराधे पुग्दा ९ बजेर ५४ मिनेट भएको थियो। सल्लाघारीमा ट्राफिक पुन: ट्राफिक बत्तीमा बस रोकियो। १० बजेर ४ मिनेट जाँदा सूर्यविनायक पुगेको बस १० बजेर ५ मिनेटमा सूर्यविनायकबाट यूटर्न लिएर रत्नपार्कतर्फ नै फर्कियो। 

druta bus sewa (2).jpg

यात्रुमा छैन सेवा चलिरहने विश्वास

भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने विषय बढाइचढाइ गरिएजस्तो ठूलो विषय होइन भन्ने नै देखियो। सामान्य समयमा अन्य सवारीका लागि पनि त्यो दुरी र समय ठूलो होइन।

सूर्यविनायक र रत्नपार्कबाट ३९ सिट क्षमता भएका २५ द्रुत बसले यात्रु कुरेर बस्न पाउँदैनन् भनिए पनि बिहीबारको पहिलो यात्रामा नै त्यस्तो देखिएन। जसमा विभागले सूर्यविनायकबाट सल्लाघारी, राधेराधे, थिमिचोक, चारदोबाटो, गठ्ठाघर, कौशल्टार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, शान्तिनगर, नयाँबानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली र अन्तिम रत्नपार्कमा बस बिसौनी तोकिदिए पनि त्यो सहज नभएको यात्रुले नै गुनासो गरे। 

बिहीबारको यात्राका क्रममा बसमा बसेका र चालक तथा सहचालकबीच विभिन्न किस्सा तथा कुराकानी सुनियो। यात्रुहरूले यो कतिन्जेल टिक्ने हो, डेडिकेटेड लेन भनेर त्यसैमा रंग पोतिएको रैछ, यसरी त के डेडिकेटेड हुन्छ र सबै बस त्यहीँ नै छन् भन्नेजस्ता प्रश्व उठाएका थिए। यता चालकले पनि यो सेवा सरकारको रमितामात्र हुने आफूलाई लागिरहेको बताए। आज बिहीबार भने स्कर्टिङको गाडीले गर्दा पनि द्रुत बसलाई १०/१५ मिनेट ढिला भएको चालकले गुनासो गरे। 

पहिलो दिनको पहिलो द्रुत बसलाई रत्नपार्कबाट सूर्यविनायक पुग्न १ घण्टा ३ मिनेट लाग्यो। सरकारले केही सहुलियत तथा सुविधा नदिने हो भने यो बस सेवाले निरन्तरता पाउन कठिन रहेको चालकको भनाइ छ। उनका अनुसार एक घण्टा वरिपरि नै समय लाग्ने हो भने पहिलेको र द्रुत बस सेवामा केही भिन्नता देखिने छैन। रत्नपार्कबाट सूर्यविनायकसम्म अन्य बससरह नै भाडा ३५ रूपैयाँ रहेको छ।  

druta bus sewa (4).jpg

पूर्वाधारको साथ छैन, रहर मात्रै

अहिले सूर्यविनायकबाट रत्नपार्कसम्म सुरु गरिएको सेवा विस्तारै चार लेन भएका उपत्यकाका सबै सडकमा सञ्चालन गरिने बताइए पनि हाम्रो सडक पूर्वाधारको अवस्थाले यो सम्भव देखिँदैन। 

सबैका लागि सडक एकै भएकाले डेडिकेटेड लेनबाट गुड्ने बसले पनि हरेक लेन क्रस तथा ट्राफिक लाइटमा कुर्नुपर्ने बाध्यता छ। धेरै ठाउँमा देब्रेतर्फ र दाहिनेतर्फको लेनमा जानु पर्ने व्यवस्था गरिएको छ। यसले पनि भनेजस्तो बिनारोकतोक द्रुत गतिमा बस गुड्न पाउँदैन। 

रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेनको सबै स्थानमा ट्राफिक प्रहरी बस्न सम्भव पनि हुँदैन। त्यसैले अन्य बस चालकहरूले द्रुत बसलाई छोडिदिने वा पर्खिएर जान दिने अवस्था छैन। सकेसम्म अन्य बसले पेल्ने र ओभरटेक गर्ने पहिलो दिनको यात्राबाटै देखिन्थ्यो। हुन पनि यात्रु चढाउनका लागि 'सडक रेसमा सहभागी हुने' चालकको शैली यसै कसरी फेरियोस्। 

अन्डर पास वा फ्लाइओभर निर्माण गरेर क्रसिङ र लेन परिवर्तन नगरि जान पाउने व्यवस्था नगरेसम्म सरकारले भनेजस्तो द्रुत बस सेवाको मर्म पुग्न सक्ने देखिँदैन। 

सूर्यविनायकबाट फर्कँदा भने बिहीबार शिक्षकहरूको आन्दोलनका कारण द्रुत बस सेवा अनुभूति हुने अवस्था नै रहेन। सूर्यविनायकबाट हिँडेको बस गठ्ठाघर नपुग्दै ठूलो जाममा परेको थियो। उपत्यकाभर सडक अस्तव्यस्त हुँदा बरा द्रुत बसले पो के गरोस्!


प्रकाशित : बिहीबार , असोज ४ २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend