बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

घाटा खाएर आलु बिक्री गर्दै किसान

बिहीबार , असोज ४ २०८०
घाटा खाएर आलु बिक्री गर्दै किसान
फाइल तस्बिर

भोजपुर- भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन्। उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन्। आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ।   

विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ-५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ ।  

चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन्। 'यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ', विष्टले भने, 'मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ।'

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन्। यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा  गिरावट आएको छ। लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उनको भनाइ छ। आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्टले बताए ।

'आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे', उनले भने, 'लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो। आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो।' 

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई २८ रुपैयाँ घरमा पुगेर २५ रुपैयाँमा खरिद गर्ने गरेका छन्। चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ। चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए।

'यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मुल्य छैन', उनले भने, 'यहाँका किसानको घरबाट प्रतिकिलो २५ रुपैयाँदेखि  २८ रुपैयाँ मा खरिद गरेर लैजाँदै आएका छौँ  । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन।'

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताए। मूल्यको कारण यहाँका अधिकांश  किसानको आलु बिक्री नभएको उनको भनाइ छ। 'हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ',  उनले भने, 'आलुले यस वर्ष राम्रो मूल्य पाउन सकेन। मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ।'

उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ। बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए। 'उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन', उनले भने, 'भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ। राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।'

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए। यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उनको भनाइ छ। 'यहाँको मुख्य उत्पादन नै आलु र मकै हो', विष्टले भने । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ। 


प्रकाशित : बिहीबार , असोज ४ २०८००५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend