शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात, गत वर्षभन्दा ४० प्रतिशतले घट्यो उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २७ २०८०
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात, गत वर्षभन्दा ४० प्रतिशतले घट्यो उत्पादन

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन्। चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

जुम्ला- जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ। यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए।

पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ। कार्यालय प्रमुख अधिकारीले भने, 'गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ।' स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ।  

जिल्लामा कुल स्याउ उत्पादनको विवरण संकलन भइरहेको छ। अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए।  जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ। स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ।

किसानको बगैँचाबाट प्रतिकेजी ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताए। जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन्। 

'भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ'। सिञ्जा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भने, 'अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ। व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी ५० देखि ६० मा किन्ने गरेका छन्।' जिल्लाभर स्याउको मूल्यदर एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिए। 

नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको  स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ। किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले जानकारी दिए। 

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन्। चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८००४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend