शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

नदीको बाढी खेतमा पसेपछि सुके धानका बोट, किसानलाई उत्पादन घट्ने र घरखर्च चलाउने चिन्ता

सोमबार, भदौ २५ २०८०
नदीको बाढी खेतमा पसेपछि सुके धानका बोट, किसानलाई उत्पादन घट्ने र घरखर्च चलाउने चिन्ता

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ।

बेदकोट- कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए। अहिले खेती पूरै सखाप भएको छ। धानका बोट सुकेका छन्। केही बोट रातो-पहेँलो भएका छन्।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन्। 'बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन', उनले भने, 'आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ।'

पुनर्वास -५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ। उनले पाँच बिघा जमिनमा धानखेती गरेका थिए। साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो। डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो। 

'बाढी पसेको दुई/तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो', उनले भने, 'तीन बिघाको पूरै सुकिसक्यो।' उनका अनुसार पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो। कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन्। 

'धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो', किसान रामकिसन चौधरीले भने, 'अब के खाने? कसरी बालबच्चा पाल्ने? समस्या छ।'

डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनले बताए। 'रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ', उनले भने, 'अरुबेला पनि बाढी आउँथ्यो, तर यस्तो क्षति गरेको थिएन, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन।'

पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ। खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ।

सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताए। 'सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो', उनले भने, 'यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन।'

कृषि ज्ञान केन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको छ। 'परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण संकलन भइरहेको छ', कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, 'दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ।' रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend