शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तरकारी खेतीबाट वार्षिक २५ लाखभन्दा बढी आम्दानी गर्दैछन् भुजेलाका वीरबहादुर

सोमबार, भदौ २५ २०८०
तरकारी खेतीबाट वार्षिक २५ लाखभन्दा बढी आम्दानी गर्दैछन् भुजेलाका वीरबहादुर

वीरबहादुरको परिवारले तरकारी खेतीबाटै जीविकोपार्जन गरिरहेको छ। तरकारीबाट भएको आम्दानीले पक्की घर समेत बनाइसकेका छन्।

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन्। दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए। उहाँका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेँडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए। 'केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै दुई लाख रूपैयाँभन्दा बढीको बिक्री भएको छ', उनले भने, 'वर्षमा १० लाख रूपैयाँभन्दा बढीको काउली मात्रै बिक्री हुने गरेको छ।' उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उनले बताए।

खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन्। तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए। त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो।

'कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन', खड्काले भने, 'गर्दै जाँदा सिकिँदोरहेछ। तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन। यसैबाट जीविकोपार्जन भइरहेको छ।' 

किसान परियोजना-२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए। 'तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ', उनले भने।

तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए। 'छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ', उनले भने, 'खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त हुन्छौँ।'

तरकारी खेती गर्नुअघि खड्काले स्वामित्वको जग्गामा अरु किसानले झैँ धान, गहुँ खेती  लगाउने गर्थे। परिवारका लागि वर्षभरि खान पनि मुश्किलले पुग्ने गर्दथ्यो। घर खर्च चलाउनका लागि १५ लाख रूपैयाँसम्म ऋण लागेको उनले सुनाए।

'सुरुवामा एक कट्ठा जग्गामा तरकारीखेती गर्‍यौँ। २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ', खड्काले भने, 'आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ।'

केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारीखेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend