शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

१० वर्षमा तीन प्रतिशत जग्गामा मात्रै थपियो सिँचाइ सुविधा, मधेश प्रदेशमा सबैभन्दा बढी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २१ २०८०
१० वर्षमा तीन प्रतिशत जग्गामा मात्रै थपियो सिँचाइ सुविधा, मधेश प्रदेशमा सबैभन्दा बढी

सातौँ कृषिगणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिँचित जग्गाको ४२ प्रतिशत र नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत रहेको छ।

काठमाडौं- १० वर्षमा कृषक परिवारले चलन गरेको जग्गामध्ये तीन प्रतिशत जग्गामा मात्रै कृषि सिँचाइ सुविधा बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय कृषि गणना, २०७८ अनुसार सिँचाइको उपलब्धतामा देखिएको वृद्धि निकै कमजोर देखिएको हो। 

कृषि गणना २०६८ ले देशभरमा २४ लाख ७२ हजार कृषक परिवारले जम्मा १३ लाख १३ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखाएको थियो भने पछिल्लो गणना २०७८ ले २८ लाख ८९ हजार कृषक परिवारले १२ लाख ९ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखाएको छ।

पछिल्लो गणनाअनुसार कृषक परिवारले चलन गरेको जम्मा जग्गामध्ये ५५ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा लिएको देखिन्छ भने अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत ५२ थियो।

पछिल्लो कृषिगणना अनुसार ७० प्रतिशत कृषक परिवारले सिँचाइ सुविधा लिएको देखिएको छ। अघिल्लो कृषिगणना अनुसार यस्ता कृषक परिवारको प्रतिशत ६५ थियो।

सिँचाइ सुविधा प्रयोग गर्ने कृषकहरु बढी भएको प्रदेशमा मधेश र जिल्लामा बारा देखिएको छ।

सिँचाइका लागि आवश्यक पानीको मुख्य श्रोतमा ट्युबवेल, बोरिङ देखिएको छ। सातौँ कृषिगणना २०७८ का अनुसार ट्युबवेल, बोरिङबाट सिँचाइ गरिएको जग्गा जम्मा सिँचित जग्गाको ४२ प्रतिशत र नदी, तलाउ वा पोखरीबाट नहर, कुलो बनाएर वा पम्पले पानी तानेर सिँचाइ गरिएको जग्गा ४१ प्रतिशत रहेको छ।

यसैगरी बाँध बाँधेर वा रिजर्भवयर बनाई त्यहाँबाट पानी ल्याएर सिँचाइ गरिएको जग्गा भने ८ प्रतिशत रहेको छ।

गत कृषिगणना २०६८ ले सिँचाइ सुविधाका लागि कृषक परिवारले प्रयोग गरेको मुख्य श्रोतमा नदी, तलाउ र पोखरी देखाएको थियो।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend