शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

धानमा गबारो, कोदोमा खुम्रे कीराको संक्रमण

सोमबार, भदौ १८ २०८०
धानमा गबारो, कोदोमा खुम्रे कीराको संक्रमण

धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छन्।

गलेश्वर- म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको संक्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन्। जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको संक्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन्।

धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका-४ का किसान रणबहादुर थापाले बताए। उहाँका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन्। 'धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ', थापाले भने, 'अझ विषादी पनि खर्चिलो छ।'

मंगला गाउँपालिकाको रणबाङको फाँट र बेनी नगरपालिका-२ बगरफाँटमा पनि धानमा गबारो कीराको संक्रमण देखिँदा पूरै खेतमा धानको गुबो मर्दै गएको बगरफाँटका खड्गबहादुर थापाले बताए। उनका अनुसार धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छन्।

कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो। धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गरेको कृषि प्राविधिक जगत बानियाँले बताए। उनका अनुसार धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन्।

गबारो कीराको संक्रमण तीव्ररूपमा फैलने भएकाले धान बाली केही दिनमै नष्ट हुने कृषि प्राविधिक बानियाँले बताए। 'यसको संक्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ', उनले भने।

धानखेतमा रासायनिक युरिया मलको अत्यधिक प्रयोग गर्नु, पानीको कमी हुनु तथा अन्य सुक्ष्म तत्वका कारण गबारो कीराको संक्रमण सहजै फैलने बानियाँले जानकारी दिए। उनका अनुसार कोदो बालीमा खुम्रे कीराको समस्या देखिएको छ। खुम्रे कीराका कारण कोदोको डाँठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन्।

कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छ भने यहाँको धान खेतीमा ढुसीजन्य रोगको संक्रमण पनि देखिएको किसानको भनाइ थियो। हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका-२ का किसान जगबहादुर विकले बताए। उनका अनुसार बालीमा रोग र किराको संक्रमण बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन्।

विषादी छर्केपछि रोग अन्य स्थानमा फैलिन नपाउने भएको प्राविधिकको सल्लाहअनुसार विषादी छर्किएको विकको भनाइ थियो। हालसम्म एक सय ४० सय रोपनी जग्गामा लगाइएको कोदो बाली खुम्रे कीराले नष्ट गरेको उनले जानकारी दिए।

खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको कृषि प्राविधिक बानियाँले बताए। आगामी दिनमा मकै लगाउने मौसममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

केन्द्रका अनुसार म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सय ५० हेक्टर क्षेत्रफलमा कोदो  खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका उन्नत जातका धानखेती हुने गरेको बानियाँले जानकारी दिए। लेकाली क्षेत्रमा सिँचाइ आवश्यक नपर्ने भएकाले घैया जातको धान खेती हुने उनको भनाइ थियो। उनका अनुसार यहाँ कोदो भने स्थानीय जातको खेती हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८००८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend