शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल

आइतबार, भदौ १७ २०८०
गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल

कैलालीका धानबालीमा गबारो कीराको समस्या देखा परेको छ। गबारो रोगले धानको गुबो मर्न थालेपछि किसान चिन्तित छन्।

टीकापुर- कैलाली टीकापुर-१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन्। उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ।

गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन्। लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ। 'धान रोप्दा र सिँचाइमा धेरै  खर्च भइसकेको छ। अझ विषादी पनि खर्चिलो छ', उनले भने, 'एक बिघा जमिनमा मात्रै ६ हजार बढीको विषादी छर्नुपर्छ। चार बिघामा विषादी छर्न धेरै खर्च लाग्छ। नछरे बाली जोगाउन मुस्किल छ।'

त्यस्तै अर्का किसान प्रेम विकको खेतमा पनि धानमा गबारो कीराको समस्याले पूरै खेतमा धानको गुबो मर्दै गएको छ। धान फस्टाउने समयमा गुबो मर्न थालेपछि उनले पनि कृषि प्राविधिकको सल्लाहनुसार विषादी छर्ने सोच बनाएका छन्।

'किसानलाई कहिल्यै सुख भएन, कहिले सिँचाइको अभाव, कहिले छाडा पशुचौपायाको त्रास, कहिले बाढीले बाली नोक्सान गर्थ्यो', उनी भन्छन्, 'केही भएन भनी धानबालीमै रोग लाग्यो। अब विषादी छर्न फेरि रकमको जोहो गर्नुपर्ने भयो।'

टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीको धानबाली पनि गबारोले नोक्सान गरेको छ। कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो। धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गर्दछ। धानमा पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी ६ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन्। धानमा गबारो कीराको समस्या तीव्ररूपमा फैलने भएकाले धान केही दिनमा नष्ट हुने गरेको किसान वीरबहादुर चौधरीले बताए।

'गबारो कीराको संक्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ', उनले भने, 'मलगायत अन्य किसानको धानबालीमा यस्तै रोग देखिएको छ।'

धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सुक्ष्म तत्वको कमीले गबारो कीराको संक्रमण सहजै फैलने कृषि प्राविधिकको भनाइ छ। गबारो कीराको संक्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्ने क्षेत्रीय बीउबिजन प्रयोगशाला कञ्चनपुरका प्रमुख सिद्धराज उपाध्यायले बताए। 'यसका लागि रासायनिक विषादीको प्रयोग तथा खेतमा ध्यान दिँदा सहजै नियन्त्रण गर्न सकिन्छ', उनले भने, 'किसानले धानखेतको नियमित अवलोकनसहित नियन्त्रणका भौतिक विधि अवलम्बन गर्नुपर्छ। बालीमा रोग फैलिएमा विषादीको प्रयोग गर्नुपर्ने हुन्छ।'

प्रमुख उपाध्यायका अनुसार धानबालीमा गबारो कीराको प्रकोप देखिए धान उत्पादनमा कमी हुन्छ। 'धान पसाउने बेलामा गबारो कीराको प्रकोप भए बाला पूरै सेतो हुने भएकाले गबारोको संक्रमणदेखि बाला लाग्ने बेलासम्म नियन्त्रणका कार्य गर्नुपर्छ', उनले भने, 'प्रकोपका रूपमा फैलिएको भए कृषि प्राविधिकको परामर्शमा विभिन्न रासायनिक विषादी प्रयोग गर्नुपर्छ', रासस


प्रकाशित : आइतबार, भदौ १७ २०८००४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend