शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कोरियाबाट फर्किएर दाजुभाइले थालेको मुर्रा भैँसीपालन, जहाँ ६ जनाले पाएका छन् रोजगारी

मंगलबार, भदौ १२ २०८०
कोरियाबाट फर्किएर दाजुभाइले थालेको मुर्रा भैँसीपालन, जहाँ ६ जनाले पाएका छन् रोजगारी

मासिक ११ लाख रूपैयाँ बराबरको दूध बिक्री हुने गरेको छ। सुरुवातमा एक करोड रूपैयाँ लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म तीन करोड रूपैयाँ लगानी भइसकेको सञ्चालक उत्तम आचार्य बताउँछन्।

वालिङ- स्याङ्जाको चापाकोट नगरपालिका-९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्। रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन्।

कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिकरुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य बताउँछन्। 'कोरियामा रहँदा गाई फार्ममा काम गर्दाको सीप तथा अनुभव हामीसँग थियो', उनले भने, 'विदेशमा सिकेको सीपले आज आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा सहज भएको छ।'

उनले सुरुवातमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थालेका थिए। हाल उनको फार्ममा माउ ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन्। हाल ५० भैँसीले दूध दिइरहेका छन्।

'अहिले दैनिक तीन सय ५० देखि तीन सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ', आचार्यले भने, 'प्रतिलिटर दूध एक सय पाँच देखि एक सय १० रूपैयाँसम्म स्थानीय बजारमा खपत हुने गरेको छ।'

मासिक ११ लाख रूपैयाँ बराबरको दूध बिक्री हुने गरेको छ। भैँसीलाई दानापानी तथा कामदारको पारिश्रमिकमा सात लाख रूपैयाँ खर्च हुने गरेको छ। फार्ममा ६ जनाले रोजगारी पाएका छन्। सुरुवातमा एक करोड रूपैयाँ लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म तीन करोड रूपैयाँ लगानी भइसकेको उनले बताए।

'सात रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक गोठ, भण्डारण कक्ष, कामदारका लागि आवास कक्ष, कार्यालय, भान्साकोठा, शौचालय र तारबार गरी संरचना निर्माण गरेका छौँ', आचार्यले भने, 'यसलाई अझै व्यवस्थित गर्नका लागि करिब डेढ करोड रूपैयाँ लगानी गर्ने तयारीमा छौँ।'

अहिले दूधमात्रै उत्पादन र बिक्री हुँदै आएकामा यसलाई थप विस्तार गरी दूधजन्य अन्य परिकार पनि उत्पादन गर्ने तयारीमा आफूहरु रहेको अर्का सञ्चालक वीरेन्द्र आचार्यले बताए। दूध मात्रै बिक्री गरेरभन्दा पनि अन्य दूधजन्य परिकार उत्पादन गर्न सके आम्दानी अझै बढ्ने भएकाले सोही तयारीमा रहेको उनी बताउँछन्।

भैँसीपालनका लागि अत्यावश्यक घाँस एक सय रोपनी क्षेत्रफलमा रोपिएकाले पनि घाँसमा लगानी गर्नु नपरेको आचार्यले बताए। फार्मले ८० रोपनी जग्गा भाडामा लिएको छ। 'फार्म सञ्चालन गरेका व्यवसायीलाई अनुदान होइन लगानीकर्तालाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराए थप लगानी गर्न प्रोत्साहन पुग्ने थियो', उनले भने।

युवा स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशी भूमिमा पलायन भइरहेका बेला राज्यले बेलैमा सोच्नुपर्ने बेला आएको आचार्यको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend