शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तनहुँमा व्यावसायिक पशुपक्षीपालनमा कृषकको आकर्षण बढ्यो

मंगलबार, भदौ १२ २०८०
तनहुँमा व्यावसायिक पशुपक्षीपालनमा कृषकको आकर्षण बढ्यो

पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ। आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्लाबाहिर पनि निर्यात हुन थालेको छ।

दमौली- तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ। पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

व्यावसायिक पशुपालनका लागि उपयुक्त भूबनोट तथा हावापानीले फार्म स्थापना बढ्दोक्रममा रहेको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। 'प्रदेश सरकारको नीतिमा कृषि तथा पशुपालन उच्च प्राथमिकतामा परेको छ। पशुपालनमा निजी क्षेत्रको बढ्दो संलग्नताको अवस्था छ', उनले भने।

विदेशबाट फर्किएका युवा सीप, ज्ञान, पुँजी र उन्नत प्रविधिसहित यस क्षेत्रमा आकर्षित भएकाले व्यावसायिक पशुपक्षी फार्ममा उनीहरूको सहभागिता बढेको उल्लेख गर्दै प्रमुख श्रेष्ठले जिल्लाका सम्पूर्ण क्षेत्रमा यातायात सुविधा, सुलभ ऋण, बीमा र नयाँ प्रविधिको उपयोग बढेकाले पनि फार्म स्थापनाका लागि सहज भएको जानकारी दिए।

कार्यालयका अनुसार जिल्लामा एक हजार छ सय ४६ व्यावसायिक पशुपक्षी फार्म छन्। आर्थिक वर्ष २०७९/८० मा ६६ फार्म दर्ता भई सञ्चालनमा आएका छन्। उक्त अवधिमा १५ गाई फार्म, १९ भैँसी फार्म, २६ बाख्रा फार्म, एक लेयर्स कुखुरा फार्म, दुई ब्रोइलर कुखुरा फार्म, तीन स्थानीय कुखुरा फार्म, पाँच मत्स्य फार्म, तीन मिश्रित फार्म दर्ता भएका थिए।

हालसम्म जिल्लामा आठ सय ३४ गाई फार्म, एक सय चार भैँसी फार्म, तीन सय ३४ बाख्रा फार्म, ५७ बंगुर फार्म, ३५ लेयर्स कुखुरा फार्म, ६७ ब्रोइलर कुखुरा फार्म, २४ स्थानीय कुखरा फार्म, ७३ मत्स्य फार्म, एक सय १३ मिश्रित फार्म र तीन कालिज फार्म सञ्चालनमा छन्।

१२ ह्याचरी उद्योग

पछिल्लो पाँच वर्षको अवधिमा जिल्लामा बाह्र ह्याचरी उद्योग खुलेको छ। ह्याचरी उद्योग चितवनपछि तनहुँमा धेरै भएको कार्यालय प्रमुख डा श्रेष्ठको भनाइ थियो। तीमध्ये सबैभन्दा बढी ह्याचरी उद्योग भानु नगरपालिकामा सञ्चालित छ। उक्त नगरपालिकामा आठ, बन्दीपुर गाउँपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा दुई र म्याग्दे गाउँपलिकामा एक ह्याचरी उद्योग सञ्चालनमा छ।

भानु नगरपालिकामा मर्स्याङ्दी पोल्ट्री प्रालि, पुर्कोट पोल्ट्री फार्म, चन्द्रावती पोल्ट्री फार्म, खुकुरी एग्रो फार्म, महालक्ष्मी ब्रिडिङ्स फार्म, शुभलक्ष्मी ह्याचरी, वृहस्पति पोल्ट्री फार्म, ह्वाइट वर्ड एग्रो प्रालि, बन्दीपुरस्थित बन्दीपुर ह्याचरी प्रालि, शुक्लागण्डकी नगरपालिकामा तीनखोला एग्रो फार्म, फेवा ग्रुप अफ पोल्ट्री, म्याग्दे गाउँपालिकामा  पोखरा तनहुँ महिला एग्रो फार्म सञ्चालनमा छ। डा श्रेष्ठले भने, 'पछिल्लो समय चितवनबाट तनहुँमा त्यस्ता फार्म स्थानान्तरण भएका छन्। यसले रोजगारीको अवसर पनि सिर्जना गरेको छ।'

आत्मनिर्भर तनहुँ

पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ। आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्लाबाहिर पनि निर्यात हुन थालेको छ।

प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा जिल्लामा ११८ दशमलव ५४ लिटर उत्पादन हुन्छ। यसैगरी ४८ वटा अण्डा आवश्यक पर्नेमा ८२ दशमलव ५९ वटा अण्डा उत्पादन भइरहेको छ। दूध २७दशमलव५४ लिटर, मासु शुन्ना दशमलव ४९ केजी र अण्डा ३४ दशमलव ५९ बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ। 

आर्थिक वर्ष २०७९/८० मा दूध २८ हजार चार सय २१ र मासु चार हजार छ सय ३५ मेट्रिक टन उत्पादन भएको छ। त्यस्तै अण्डा दुई करोड ६३ लाख ३२ हजार वटा उत्पादन भएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८००७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend