शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

अकबरेको व्यावसायिक खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्छन् भोजपुरका किसान

मंगलबार, भदौ १२ २०८०
अकबरेको व्यावसायिक खेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्छन् भोजपुरका किसान

भोजपुरका स्थानीय कृषकले उत्पादन गरेका अकबरे खुर्सानी धरान, इटहरी, विराटनगर, काठमाडौंलगायतका सहरमा पुग्ने गरेको छ। खुर्सानी खेतीबाट त्यहाँका किसानले वार्षिकरुपमा ५० हजारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

भोजपुर- व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन्। उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौंलगायतका सहरमा पुग्ने गरेको छ। उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्। खुर्सानी स्थानीय बजारमा प्रतिकेजी दुई सय ५० देखि तीन सय ५० रूपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन्। विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खेतीमा प्रोत्साहन गरेको छ। पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारीभञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन्।

यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा-२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताए। गाउँमा उत्पादन भएको खुर्सानी संकलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिए। 'पौवादुङमा क्षेत्रमा धेरै किसानले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन्', तिवारीले भने, 'सडकको सहजताका कारण यहाँ उत्पादन भएको खुर्सानी बढी मात्रामा बाह्य जिल्ला जाने गरेको छ। खुर्सानी बिक्रीबाट राम्रै आम्दानी हुन्छ।'

खुर्सानी बिक्रीबाट वार्षिक तीनदेखि चार लाख रूपैयाँसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताए। यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा ५० हजारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ। तिवारीभञ्याङ क्षेत्रमा एक सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएको किसान तिवारीले जानकारी दिए।

खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको उनको भनाइ छ। 'हाम्रो गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती गर्ने  किसानको संख्या धेरै नै छ', उनले भने, 'विगतमा कमै मात्रामा किसानले खेती गर्दै आएका थिए। गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गरेपछि प्रायः सबै किसानले खेती गरेका छन्। गाउँपालिकाको सहयोगले यसको व्यावसायिक खेतीमा लाग्न  हामीलाई टेवा पुगेको छ।'

खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ। गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताए।

'अकबरे खुर्सानी खेती किसानको राम्रो आम्दानीको स्रोत बनेको छ', प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, 'गाउँपालिकाले खुर्सानी खेतीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि खेतीमा लाग्ने किसानको संख्या बढेको अवस्था छ। गत वर्ष मात्र हाम्रो गाउँपालिकामा खुर्सानी बिक्रीबाट ६ करोड रूपैयाँ बढी भित्रिएको अवस्था छ।'

कृषिबाट स्थानीयको आयस्तरमा सुधार ल्याउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। ६ वटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

'कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ', अध्यक्ष राईले भने, 'खास गरेर हामीले यहाँ माटो सुहाउँदो बालीमा जोड दिएका छौँ। गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन्। अहिले गाउँपालिकामा वार्षिकरूपमा ६ करोड बढीको खुर्सानी उत्पादन हुने अवस्था छ।'

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे-४, बास्तिम-५, सानोदुम्मा-६, ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरिएको जनाएको छ। त्यस्तै  वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउली खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किबीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको उनले जानकारी दिइन्। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८००५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend