शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

राजनीतिसँगै व्यावसायिक कृषिमा पनि सक्रिय गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष शेरबहादुर सुनुवार

बुधबार, भदौ ६ २०८०
राजनीतिसँगै व्यावसायिक कृषिमा पनि सक्रिय गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष शेरबहादुर सुनुवार

राजनीति गर्नेको जीविकोपार्जनका लागि कुनै पेसासँग जोडिनुपर्ने आवश्यकता महसुस गरेर राजनीतिसँगै कृषि पेसामा जोडिएको उनले बताए।

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर सुनुवारले कृषि कर्ममार्फत गाउँमा उदाहरणीय बनेर देखाएका छन्। दैनिक हजारौँको सङ्ख्यामा विदेशिने युवालाई चुनौती दिँदै उनले गाउँमै नमुना कृषि फार्ममार्फत व्यावसायिक कृषि गर्दै आएका छन्।

पछिल्लो समय स्वदेशमै कृषि गर्नुभन्दा विदेश जाने युवाको संख्या बढेको भन्दै राजनीतिसँगै कृषिलाई व्यवसाय बनाएको सुनुवारले बताए। राजनीति गर्नेले अरु पेसा/व्यवसाय नगर्ने परम्परा रहेको बताउँदै उनले कृषिका माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि कर्ममा लागेको बताए।

‘राजनीति पेसा होइन सेवा हो’ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउँदै सुनुवारले राजनीति गर्नेको जीविकोपार्जनका लागि कुनै पेसासँग जोडिनुपर्ने आवश्यकता महसुस गरेर राजनीतिसँगै कृषि पेसामा जोडिएको बताए। राजनीति गर्ने मान्छे जुन पेसामा जोडिए पनि अब्बल र नमुना बन्नुपर्नेमा उनले जोड दिए।

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका सुनुवार सबैलाई कर्म गर्न सिकाउँदै छन्। सुनुवार बहुदलीय व्यवस्था आएदेखि निरन्तर राजनीतिमा सक्रिय छन्। विसं २०७४ को स्थानीय निर्वाचनमा गोकुलगंगा गाउँपालिकाको अध्यक्षका रुपमा  विजयी भएका सुनुवारले पालिकाको पदमा हुँदा पनि फुर्सदको समयमा कृषि कर्मलाई निरन्तरता दिएका थिए। अहिले उहाँ गाईवस्तुको थलाको भकारो सोर्न र डोको बोक्ने गर्छन्।

विसं २०४९ देखि निरन्तर सार्वजनिक पदमा रहेका सुनुवार विसं २०४९ मा गाविस उपाध्यक्षमा निर्वाचित भए। पछि उनले गाविसको कार्यबाहक अध्यक्ष भएर काम गरे। विसं २०५४ मा गाविस अध्यक्ष भएर जिम्मेवारी निभाए।

विसं २०७४ को निर्वाचनमा भने उनी पराजित भएपछि आफ्नो सम्पूर्ण समय कृषिमा लगाएको सुनुवारले बताए। गाउँमा पशुपालनसँगै खेतीलाई नै व्यावसाय बनाएको उनको भनाइ थियो। गाउँपालिकाको अध्यक्ष हुँदा पालिकालाई कृषिबाट नै समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरेको उनले जानकारी दिए।

उनले अध्यक्ष हुँदा यहाँका किसानलाई किबी, फलफूलका बिरुवा, कृषि उत्पादन, पशुपालनलगायतका क्षेत्रमा अनुदानको व्यवस्था मिलाउनुका साथै आलु पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गरे। व्यावसायिक क्षेत्रमा लागेमा जीविकोपार्जन सहन हुन्छ भन्दै उनले स्थानीयवासीलाई प्रेरित गर्न विभिन्न अनुदानका कार्यक्रम ल्याएका थिए।

गाउँपालिका अध्यक्ष हुँदा उनले किबी, चिया, आलु, सिमीका साथै विभिन्न जातका फलफूल र खाद्यबालीको व्यावसायी खेतीका लागि विभिन्न कार्यक्रम ल्याएको सुनुवारले बताए। अहिले उनको बगैँचाका तीन सय बढी किबीका बोटले व्यावसायिक उत्पादन दिन सुरु गरिसकेका छन्। अन्य बिरुवा पनि एक/दुई वर्षमा उत्पादन दिने अवस्थामा पुगेका छन्। एक बोट किबीले वार्षिक ५० केजीसम्म उत्पादन दिन्छ। किसानले किबी बगैँचाबाट तीन सय प्रति केजीमा बिक्री गर्छन्।

सुनुवारले आर्गानिक चिया र आलुका साथै लसुन, प्याज, स्कुस, कोदो, मकैलगायत खेती गरिरहेका छन्। विभिन्न जातका फलफूलका साथै स्थानीय जातका कुखुरा र पशुपालनमा पनि उत्तिकै सक्रिय छन् उनी। उनी आफै खेतीको काममा खटिन्छन्। कोदालो खन्छन्, डोको बोक्छन्, बिरुवा काँटछाँट गर्छन्। 'भ्याएसम्म प्रायः काम आफै गर्ने हो। नभ्याउँदा अलिअलि मान्छे पनि लगाउनुपर्छ', सुनुवारले भने।

उनले उत्पादनसँगै बजारीकरणको काम पनि सुरु गरेको बताए। आफ्नो र स्थानीय किसानको उत्पादन बजारसम्म पुर्‍याउने काममा अहिले सुनुवार लागेका छन्। 'यसले गर्दा किसानले उत्पादनको राम्रो मूल्य पाउने र उपभोक्ताले पनि सस्तो मूल्यमा गुणस्तरीय र आर्गानिक खानेकुरा पाउने वातावरण बन्दै गएको छ', उनले भने।

अहिले माथिल्लो लेकाली भेगमा आलु खन्नेर बजार पठाउने बेला भएको छ। यहाँ उत्पादित आलु लिएर सुनुवार आफै काठमाडौं छिरेका छन्। भक्तपुरस्थित गट्ठाघर पुलको छेउमा एउटा सटर भाडमा लिएर उनले दुई हजार चार सय मिटर माथिको कुनै विषादी प्रयोग नगरिएको आर्गानिक आलु बिक्रीमा राखेका छन्।

रामेछापको गोकुलगंगा र उमाकुण्डको ताबेँलगायत लेकाली क्षेत्रको आलु उपत्यकाका उपभोक्तालाई बेचिरहेको सुनुवारले बताए। उनले आलुको विज्ञापन गर्न चिन्ता नभएको भन्दै शुभचिन्तक, पार्टीका नेताहरूले विज्ञापन गरिदिइरहेको बताए।

गोकुलगंगामा उत्पादन भएको अर्गानिक आलु भक्तपुरको गठ्ठाघरमा बिक्री गरिरहेको बताउँदै सुनुवारले यसले किसानलाई प्रोत्साहन दिनुका साथै सहरवासीलाई अर्गानिक आलुको स्वाद दिइरहेको बताए।

आफू गाउँपालिका अध्यक्ष हुँदा जनताको इच्छाअनुसार जनपक्षीय योजना बनाएर किसानलाई अनुदान दिएको जनाउँदै उनले यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आलु जोनका रुपमा काम गरिरहेको जानकारी दिए।


प्रकाशित : बुधबार, भदौ ६ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend