शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

डुडुवा गाउँपालिकाले गर्‍यो धानको बीउ उत्पादन, किसानलाई वितरण गरिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ६ २०८०
डुडुवा गाउँपालिकाले गर्‍यो धानको बीउ उत्पादन, किसानलाई वितरण गरिने

बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ।

बाँके- किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ। यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ।

किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए। उनका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरी सहकारीमार्फत किसानलाई वितरण गरिनेछ।

नब्बे टन बीउले एक हजार पाँच सय हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा-४ र रामधानको मूल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ। मूल बीउ उत्पादनपछि बीउबिजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताए।

बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) खजुराबाट ८५ प्रतिकिलो दरमा बीउ खरिद गरी ल्याइएको छ। किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र सामग्री र सिँचाइ सेवा उपलब्ध गराइएको शाखा प्रमुख शर्माले बताए। उनका अनुसार डुडुवा गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि रु २० लाखको लगानी गरेको छ। यो वर्ष उत्पादित बीउलाई आगामी वर्ष किसानलाई सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ।

पालिकाले उन्नत जातको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ। धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निर्माण गरेको अत्याधुनिक बीउ प्रशोधन केन्द्रमा बीउ भण्डारणको काम सुरु गर्ने जनाएको छ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बीउ उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनै पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्ने छ।

अध्यक्ष चौधरीले किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीतिअनुसार बीउ भण्डार सुरु गरेको र बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए। बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा-२ स्थित छ सय मेट्रिक टन क्षमताको बीउ भण्डारण घर स्थापना गरिएको छ। 

डुडुवाको कुल क्षेत्रफल नौ हजार एक सय २८ हेक्टर रहेको छ। त्यसमा खेतीयोग्य जमिन चार हजार दुई सय १८ दशमलव ०९ हेक्टर रहेको छ। वडाअनुसार हेर्दा सबैमा आधा क्षेत्रफलमात्रै खेतीयोग्य जमिन छन्। पालिकामा धानबालीको औसत उत्पादन प्रतिहेक्टरमा चार दशमलव तीन मेट्रिक टन रहेको छ। मकैबाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend