शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

अनुदान दिन थालेपछि रुकुमपश्चिममा बढ्यो दूध उत्पादन

बिहीबार , साउन ३२ २०८०
अनुदान दिन थालेपछि रुकुमपश्चिममा बढ्यो दूध उत्पादन

जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलंगा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बाँकी दूध रुकुमपूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ।

रुकुमपश्चिम- पशु अस्पताल तथा पशुसेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुमपश्चिममा दूध उत्पादन बढेको छ। कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ। 

आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार ६ सय लिटर दूध उत्पादन भएको थियो। दूधमा प्रतिलिटर पाँच रूपैयाँका दरले किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए।

उनका अनुसार आव २०७९/८० मा ४५ दलित, ४६ जनजाति र अन्य पाँच सय ४० गरेर छ सय ३१ किसानलाई दूधमा अनुदान दिइएको थियो। निवेदन दिएका छ सय ३१ किसानले अनुदान पाएको उक्त कार्यालयका निमित्त प्रमुख शर्माले जानकारी दिए। दूध बिक्री गरेका आधारमा किसानले आठ सय ७५ देखि ४५ हजार रूपैयाँसम्म प्रोत्साहन रकम पाएको उनको भनाइ थियो।

उक्त कार्यालयले दिने अनुदान रकम किसानको खातामा पठाउने गरिएको छ। अनुदानअन्तर्गत ६ सय ३१ किसानले ३५ लाख ५८ हजार रूपैयाँ प्राप्त गरेका थिए। जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलंगा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बाँकी दूध रुकुमपूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ। 

जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानले राम्रैसँग दूध उत्पादन गर्दै आएका छन्। आठबिसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा भने कम दूध उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख शर्माले बताए।

दूध संकलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशुसेवा कार्यालयमा उपलब्ध विवरणअनुसार जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको देखिन्छ। गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले योभन्दा धेरै दूध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाइ छ। 

किसानलाई दूधमा प्रोत्साहन उपलब्ध गराउँदा जिल्लामा अघिल्ला वर्षभन्दा दुई दशमलव ६३ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend