बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा गिरावट, अन्य सूचक कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३१ २०८०
आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा गिरावट, अन्य सूचक कस्तो?

काठमाडौं- नेपाल टेलिकम लिमिटेडकाे नाफा घटेकाे छ। गत आर्थिक वर्षको विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हाे।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्री आम्दानी घटेपछि खुद नाफा घटेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ। त्यस्तै कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : बुधबार, साउन ३१ २०८००२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend