बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गएको वर्ष १६ वटा आईटी कम्पनी दर्ता, ८ सय ९६ जनालाई रोजगारी दिने प्रतिबद्धता

२० करोड विदेशी लगानीमा सिन्धुपाल्चोकमा डेटा सेन्टर खोल्न अनुमति 

सोमबार, साउन २२ २०८०
गएको वर्ष १६ वटा आईटी कम्पनी दर्ता, ८ सय ९६ जनालाई रोजगारी दिने प्रतिबद्धता

आईआईडीएसले गरेको एक अध्ययन अनुसार नेपालमा ६६ हजार त्यस्ता व्यक्ति छन् जसले विदेशमा रहेका कम्पनीका लागि काम गरिरहेका छन्। कम्पनी तथा त्यस्ता व्यक्तिले गरेर गएको वर्षमात्र ५१ करोड अमेरिकी डलर भित्र्याएका थिए। 

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ वटा सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी उद्योग विभागमा दर्ता भएका छन्। उद्योग विभागको तथ्यांकअनुसार असारमा सकिएको आर्थिक वर्षभरमा १ अर्ब ७ करोड लगानी प्रतिबद्धता यी उद्योगले गरेका छन्। 

यसरी दर्ता हुनेमा अधिकांश विदेशी लगानीका रहेका कम्पनी छन्। विभागको तथ्यांकअनुसार गत वर्ष दर्ता भएका १६ मध्ये १२ वटामा पूर्ण विदेशी लगानी रहेको छ भने २ वटामा स्थानीय साझेदार रहेका छन्। त्यस्तै दुई वटामात्र स्वदेशी लगानीका छन्। 

यी दर्ता भएका १६ कम्पनीले ८९६ जनालाई रोजगारी दिनसक्ने प्रक्षेपण गरेका छन्। लगानी न्यून हुने भए पनि धेरै रोजगारी दिनसक्ने सम्भावना भएका यस्ता कम्पनीमा सय जनासम्मलाई रोजगारी दिनसक्ने उल्लेख गरेका छन्।

यसरी धेरै रोजगारी दिनेमा विदेशी लगानीका कम्पनी रहेका छन्। लगानीको अनिवार्य न्यूनतम सीमाका कारणले अधिकांशले २ करोडभन्दा माथिको प्रतिबद्धतता गरेका छन्। तर यो वर्षदेखि सरकारले सूचना प्रविधिको क्षेत्रमा लगानीको सीमा खारेज गर्ने घोषणा गरिसकेको छ। 

गत वर्ष दर्ता भएकोमध्ये सबैभन्दा धेरै रोजगारीको प्रतिबद्धता क्युनिभर्स प्रालिले गरेको छ। यो कम्पनीले सञ्चालनमा आएपछि १०१ जनालाई रोजगारी दिने उल्लेख गरेको छ। पाँच करोड लगानी गर्ने घोषणा गरेको यो कम्पनी काठमाडौंमा दर्ता भएको हो। 

त्यस्तै ललितपुरमा दर्ता भएक क्लोको नेपाल इन्कले पनि सय जनालाई रोजगारी दिनेछ भने नान्या नेटछ टेलिभिजन एण्ड मिडियाले पनि १०१ जनालाई नै रोजगारी दिने घोषणा गरेको छ। 

यी दर्ता भएका अधिकांशले सफ्टवेयर डेभलपमेन्ट, एप डेभलप, डेटा माइनिङ र डेटा स्टोरेजको काम गर्ने उल्लेख गरेका छन्। 

पछिल्लो समय सरकारले सूचना प्रविधिको क्षेत्रमा उत्पादन तथा सेवाको क्षेत्रमा काम गर्ने उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। औपचारिक भइ काम गर्दा करमा छुट, विदेशी मुद्रा सटहीमा सहजीकरण तथा विदेशमा शाखा खोल्न पनि सरकारले अनुमति दिने घोषणा गरेको छ। 

पछिल्लो एक अध्ययनअनुसार नेपालमा दर्ता भएर काम गरिरहेका यस्ता कम्पनीको संख्या एक सय ६ वटा रहेको छ। नेपालमा कम्पनी दर्ता गरेरभन्दा पनि व्यक्तिगत रुपमा काम गर्ने व्यक्तिको संख्या उल्लेख्य रहेको छ। 

आईआईडीएसले गरेको एक अध्ययनअनुसार नेपालमा ६६ हजार त्यस्ता व्यक्ति छन् जसले विदेशमा रहेका कम्पनीका लागि काम गरिरहेका छन्। कम्पनी तथा त्यस्ता व्यक्तिले गरेर गएको वर्षमात्र ५१ करोड अमेरिकी डलर भित्र्याएका थिए। 

२० करोड लगानीमा सिन्धुपाल्चोकमा डेटा सेन्टर खुल्दै 

उद्योग विभागको तथ्यांकअनुसार गएको वर्ष एउटा कम्पनी दर्ता भएको छ, नेपाल ईस्सोसन इन्फर्मेसन टेक्नोलोजी प्रालि। यो कम्पनीले २० करोड लगानीमा डेटा सेन्टर सञ्चालन गर्ने अनुमति पाएको छ। 

काठमाडौं तथा सहरी क्षेत्रमा यस्ता कम्पनीले प्राथमिकता दिन्छन् तर यो कम्पनीले भने सिन्धुपाल्चोकमा काम गर्नेगरि अनुमति पाएको छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ मा रहेर डेटा सेन्टर, माइनिङ तथा क्लाउड कम्प्युटिङको काम गर्ने यसले उल्लेख गरेको छ। १७ जनालाई रोजगारी दिने घोषणा गरेको यो कम्पनीमा शतप्रतिशत विदेशी लगानी रहेको छ।


प्रकाशित : सोमबार, साउन २२ २०८००९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend