शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तनहुँमा उत्पादित कागतीले पाएन बजार

आइतबार, साउन २१ २०८०
तनहुँमा उत्पादित कागतीले पाएन बजार

आर्थिक वर्ष २०७९/०८० मा तनहुँमा २० लाख रूपैयाँ मूल्य बराबरका कागती उत्पादन भएका छन्। पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चारसय ५० मेट्रिक टन कागती उत्पादन भएको छ।

दमौली- तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन्। व्यावसायिकरूपमा कागतीखेती सुरू गरेका देवघाट गाउँपालिका-२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे।

विदेशबाट फर्किएर कागतीखेती सुरू गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए। उनले भने, 'स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ।' पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरू गरेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका हुन्।

गत वर्ष पहिलोपटक ७० हजार रूपैयाँको कागती बिक्री भएको उनले बताए। यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन्। 'उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष ७० हजार रूपैयाँको कागती बिक्री गरेँ। यस वर्ष सात सय किलो उत्पादन भएको छ', उनले भने, 'गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ।' उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ। उनले भने, 'स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन।'

ठकुरीले गत वर्ष प्रतिकेजी ८० रूपैयाँमा बिक्री गरेका थिए। यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ। 'चितवनमा बुझ्दा किलोको ६० रूपैयाँ रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु। सबैभन्दा बढी आउँदा एक सय रूपैयाँसम्म पनि आएको छ', उनको भनाइ छ। 

विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी विसं २०७० मा स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि उनले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरू गरेका थिए। हालसम्म १५ लाख रूपैयाँ लगानी भइसकेको उनको भनाइ छ। उनको कागती बगैँचामा पाँच सय बोट छन्। कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए। कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनले बताए।

कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उनी बताउँछन्। कागती बगैँचादेखि दुई किलोमिटर दुरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ। उनले भने, 'बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ। कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो।'

बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ। कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको उनको अनुभव छ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दुःख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताए। 'उत्पादन गरायो बजार नै पाउन गाह्रो, बाटो पनि छैन, कृषि सडक कृषि उत्पादन नभएको ठाउँमा लगियो', उनले भने, 'कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु।' तिवारीले कागतीखेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको बताए।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा २० लाख रूपैयाँ मूल्य बराबरका कागती उत्पादन भएका छन्। पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चारसय ५० मेट्रिक टन कागती उत्पादन भएको छ। रासस


प्रकाशित : आइतबार, साउन २१ २०८००५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend