बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समस्यामा चलचित्र उद्योग  ः एक दर्जन सिनेमा हल सधैँका लागि बन्द 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
समस्यामा चलचित्र उद्योग  ः  एक दर्जन सिनेमा हल सधैँका लागि बन्द 

कोभिड १९ महामारीको दोस्रो लहर फैलिन थालेयता बैशाखदेखि नै बन्द गरिएका सिनेमा हल अहिले खुलेका छन्। प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउँदै ५० प्रतिशत क्षमतामा सिनेमा हल सञ्चालन गर्न दिएको छ।

काठमाडौं- कोभिड १९ महामारीको दोस्रो लहर फैलिन थालेयता बैशाखदेखि नै बन्द गरिएका सिनेमा हल अहिले खुलेका छन्। प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउँदै ५० प्रतिशत क्षमतामा सिनेमा हल सञ्चालन गर्न दिएको छ।

तर हल खुले पनि देखाउन नयाँ सिनेमा छैनन्। नयाँ सिनेमा नभएपछि हलसम्म पुग्ने दर्शक पनि छैनन्।

कोभिडको पहिलो लहर मत्थर भएपछि गत वर्ष पनि सरकारले सिनेमा हल सञ्चालन गर्न दिएको थियो। तर त्यतिबेला पनि हलमा देखाउने नयाँ सिनेमा नहुँदा दर्शक नआएको क्यूएफएक्स सिनेमाका सञ्चालक नकिम उद्दिनले बताएका थिए।

कोभिड महामारीले चलचित्र उद्योग नराम्रोसँग थला परेको छ। सञ्चालनको अनुमति पाउनासाथ रेष्टुरेन्ट, क्लबमा खचाखच ग्राहक पुग्न थालिसकेका छन्। तर हलमा सिनेमा हेर्न जाने दर्शक छैनन्। 

‘गत वर्ष एउटा शोमा मुस्किलले ५/७ जनामात्र दर्शक हुने गर्थे’, उनी भन्छन्, ‘जबसम्म नयाँ फिल्म रिलिज हुँदैनन्, दर्शक फिल्म हलमा यत्तिकै किन आउँछन र?’ 

कोभिडले चलचित्र उद्योग ठप्प हुँदा धमाधम सिनेमा हल बन्द हुन थालेका छन्। कोभिडपछि मुलुकभर सञ्चालित करिब एक दर्जन सिनेमा हल सधैँका लागि बन्द भएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए। काठमाडौं उपत्यका र मोफसलका शहरमा सञ्चालित हल कोभिडको मारमा परेका हुन्।

कोभिडपछि कलिउड, बलिउड र हलिउडमै त्यति नयाँ फिल्म बनेका छैनन्। कोभिडअघि प्रर्दशनको तयारीमा रहेका कतिपय निर्माताले कोभिडमा फिल्म रिलिज गरेर जोखिम मोल्न तयार छैनन्। हलमा देखाउन फिल्म नै नभएपछि दर्शक आएनन् भनेर भन्न नमिल्ने प्रधानको भनाइ छ। उनी थप्छन्, ‘हलमा नयाँ फिल्म लाग्न थाले भने विस्तारै दर्शक बढ्दै जाने हुन्।’

कोभिड महामारीकै बिचमा काठमाडौंको हात्तिसारमा सञ्चालित जय नेपाल हल बन्द भएको छ। यो हल क्यूएफएक्सले दुई दशकदेखि भाडामा लिएर सञ्चालन गरिरहेको थियो। यसै पनि सिंगल पर्दाको हलमा सामान्य समयमै दर्शक आउन छाडिसकेका थिए। त्यसमाथि कोभिडले लामो समय सिनेमा उद्योग ठप्प भएपछि खर्च धान्न नसकेर हल बन्द गर्ने निर्णयमा क्यूएफएक्स व्यवस्थापन पुगेको हो।

जय नेपाल हल बन्द गरेको केही महिनापछि क्यूएफएक्सले कुमारी हल पनि बन्द गर्ने निर्णयमा पुग्यो। कुमारी क्यूएफएक्सको दोस्रो हल थियो। महामारी लम्बिदै जाने र लामो समय सिनेमा उद्योग प्रभावित हुने देखेपछि कुमारी पनि बन्द गर्ने निर्णय गरेको क्यूएफएक्स व्यवस्थापनको भनाइ छ। 

चावाहिलको गोपीकृण परिवारले पुरानो हल भत्काएर मलसहितको मल्टिप्लेक्स सञ्चालनको तयारी थालेको छ। गोपिकृष्ण हलको भवन भत्काएर नयाँ भवन निर्माण सुरु गर्न लागेको बताइएको छ। गोपिकृष्णमा ७ वटा पर्दा सञ्चालनमा थिए।

बालाजुको गंगा चलचित्र मन्दिर पनि सधैका लागि बन्द भइसकेको छ। नेपालको पूर्वदेखि पश्चिमसम्म सिनेमा हल बन्द भएको चलचित्र संघका अध्यक्ष प्रधानले बताए। बिर्तामोडको कृष्ण हल, पाल्पाको सन्तोष हल, दाङको विश्व चलचित्र हल लगायत सधैका लागि बन्द भएका हुन्। धुलावारी, दमक, इटहरी, बिराटनगर, बीरगञ्ज लगायत ठाउँमा सञ्चालित हल पनि बन्द भएका छन्।

सिंगल पर्दाका पुराना हलहरु बन्द भइरहेको प्रधानले बताए। पछिल्लो समय सिंगल पर्दाका पुराना हलमा दर्शक जान छाडेका थिए। धेरैको आकर्षण सपिङ मलसहितका मल्टिप्लेक्समा देखिएको छ। त्यसैले देशभर मल्टिप्लेक्स निर्माणले तिब्रता पाइरहेका छन्। 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०८:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend