शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

साढे ८ लाख लगानीमा मण्डनदेउपुरका किसानले थाले सामूहिक बाख्रापालन

आइतबार, साउन १४ २०८०
साढे ८ लाख लगानीमा मण्डनदेउपुरका किसानले थाले सामूहिक बाख्रापालन

एक्लाएक्लै काम गर्दा निर्वाहमुखी मात्रै भएको र धेरै लगानीमा पालन गर्न लगानी अभाव रहेकाले कृषि समूहमार्फत नगरपालिकाको आर्थिक सहयोगमा सामूहिक बाख्रापालन कार्यलाई अगाडि बढाएको किसान बताउँछन्।

धुलिखेल- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका किसानले सामूहिक रुपमा बाख्रापालन सुरू गरेका छन्। 

कृषि समूहमार्फत नगरपालिकाको ‘बाख्रा पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत वडा नं ११ स्थित भाटपोलका किसानले सामूहिक बाख्रापालन गरेका हुन्। जयलक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रापालन थालनी गरेको नगरपालिकाले जनाएको छ।

सामूहिक बाख्रापालनका लागि स्थानीय ५५ जनाले ६/६ हजारका दरले तीन लाख ३३ हजार र नगरपालिकाको पाँच लाख गरी आठ लाख ३३ हजार रूपैयाँ लगानीमा सो फार्म सुरू गरेका हुन्। खोरमा अहिले ४० बाख्रा छन्।

वडा नं ११ का वडाध्यक्ष दीपेन्द्र लामाले बाख्रापालनका लागि उपयुक्त स्थान भएकाले बाख्रा पकेट क्षेत्र कार्यक्रमअन्तर्गत सामूहिक रुपमा बाख्रापालन गर्न व्यवस्था मिलाइएको बताए।

नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख ध्रुवप्रसाद पराजुलीले भाटपोलमा थालनी गरेको फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रापालन फार्म भएको बताए। स्थानीय बाख्रा र उन्नजातको बोकाको नश्लमार्फत आयआर्जन बढाउन सकिने गरी नगरपालिकाको सहयोगमा थालनी भएको कार्यलाई नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने उनको भनाइ छ।

एक्लाएक्लै काम गर्दा निर्वाहमुखी मात्रै भएको र धेरै लगानीमा पालन गर्न लगानी अभाव रहेकाले कृषि समूहमार्फत नगरपालिकाको आर्थिक सहयोगमा सामूहिक बाख्रापालन कार्यलाई अगाडि बढाएको किसान बताउँछन्। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend